• बुधबार, २५ कात्तिक २०८३
  • images
    images

    चिकित्सा शिक्षामा नेपालको अध्ययन उत्कृष्ट

    चिकित्सा शिक्षामा नेपालको अध्ययन उत्कृष्ट

    विदेशमा अध्ययन गर्नेको नतिजा कमजोर

    मंगलबार, जेठ १९ २०८३
    मंगलबार, जेठ १९ २०८३
    चिकित्सा  शिक्षामा नेपालको अध्ययन उत्कृष्ट

    काठमाडौँ, १९ जेठ । मेडिकल शिक्षामा नेपालको अध्ययन उत्कृष्ट देखिएको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार विदेशमा गइ अध्ययन गर्नेको नतिजा भने अत्यन्त कमजोर देखिएको छ । 

     मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा विदेशका मेडिकल कलेजबाट अध्ययन पूरा गरी फर्किएका धेरै नेपाली विद्यार्थी अनुत्तीर्ण भएका छन्।

    काउन्सिलले सार्वजनिक गरेको नतिजाअनुसार एमबीबीएसतर्फ विदेशी शैक्षिक संस्थाबाट स्नातक गरेका परीक्षार्थीको उत्तीर्ण दर तुलनात्मक रूपमा न्यून देखिएको छ।

    काउन्सिलका अनुसार बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरेका ३६७ जना परीक्षार्थीमध्ये १५१ जना मात्र उत्तीर्ण भएका छन्। यो कुल सहभागीको ४१.१४ प्रतिशत हो। बाँकी २१६ जना अनुत्तीर्ण भएका छन्।

    त्यसैगरी चीनबाट एमबीबीएस अध्ययन गरी फर्किएका १३० जनामध्ये २० जना मात्रै उत्तीर्ण भएका छन्, जुन १५ प्रतिशत हो। १०९ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का गरिएको छ।

    भारतबाट एमबीबीएस अध्ययन पूरा गरेका २६ परीक्षार्थीमध्ये ११ जना (४२.३१ प्रतिशत) उत्तीर्ण भएका छन्। फिलिपिन्सबाट अध्ययन पूरा गरेका ४२ जनामध्ये १२ जना (२८.५७ प्रतिशत) मात्र सफल भएका छन्।

    इजिप्टबाट एमबीबीएस अध्ययन गरेका दुई जना परीक्षार्थी दुवै अनुत्तीर्ण भएका छन्। यस्तै, युक्रेनबाट सहभागी एक जना तथा रसियाबाट सहभागी तीनै जना परीक्षार्थी पनि उत्तीर्ण हुन सकेनन्।

    काजकस्तानबाट अध्ययन गरेका दुई जनामध्ये एक जना अनुत्तीर्ण भएका छन् भने अर्को परीक्षार्थीको नतिजा रोक्का गरिएको छ। पाकिस्तानबाट अध्ययन पूरा गरेका छ जनामध्ये चार जना उत्तीर्ण भएका छन्। साउदी अरेबियाबाट अध्ययन गरेका एक जना परीक्षार्थी भने सफल भएका छन्।

    स्वदेशी मेडिकल कलेजको नतिजा राम्रो

    विदेशी शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका परीक्षार्थीको नतिजा कमजोर देखिएको अवस्थामा नेपालका मेडिकल कलेजबाट एमबीबीएस अध्ययन पूरा गरेका विद्यार्थीको नतिजा भने तुलनात्मक रूपमा राम्रो देखिएको छ।

    यसपटकको परीक्षामा नेपालका मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेका १ हजार २५१ जना सहभागी भएका थिए। तीमध्ये ९६३ जना उत्तीर्ण भएका छन्, जुन ७६.७९ प्रतिशत हो।

    यो नतिजाले नेपालका मेडिकल शिक्षण संस्थाहरूमा प्रदान गरिने शिक्षाको गुणस्तर तथा परीक्षार्थीको तयारी तुलनात्मक रूपमा प्रभावकारी रहेको संकेत गरेको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन्।

    बीडीएसतर्फ विदेशीको नतिजा अपेक्षाकृत राम्रो

    एमबीबीएसको तुलनामा बीडीएसतर्फ भने विदेशबाट अध्ययन गरी फर्किएका परीक्षार्थीको नतिजा अपेक्षाकृत राम्रो देखिएको छ।

    काउन्सिलका अनुसार बंगलादेशबाट बीडीएस अध्ययन पूरा गरेका १५ जनामध्ये ९ जना उत्तीर्ण भएका छन्। भारतबाट बीडीएस अध्ययन गरेका १७ जनामध्ये १६ जना सफल भएका छन्, जुन अत्यन्त उच्च उत्तीर्ण दर हो।

    नेपालका डेन्टल कलेजबाट अध्ययन पूरा गरेका ४०० जना परीक्षार्थीमध्ये ३४३ जना उत्तीर्ण भएका छन्। यद्यपि फिलिपिन्सबाट बीडीएस अध्ययन गरेका एक जना परीक्षार्थी भने अनुत्तीर्ण भएका छन्।

    May be an image of hospital and text

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार