काठमाडौं, ६ असार । निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
निजामती कर्मचारी अस्पताल विकास समिति (गठन) आदेश, २०६४ तथा निजामती कर्मचारी अस्पताल (कार्यकारी निर्देशकको नियुक्ति, काम, कर्तव्य, अधिकार र सेवा सुविधा) नियमावली, २०७७ बमोजिम कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुला गरिएको मन्त्रालयले जनाएको छ।
सूचनाअनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयभित्र मन्त्रालयको कर्मचारी कल्याण शाखामा आवेदन पेश गर्नुपर्नेछ। आवेदन शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ।
कार्यकारी निर्देशक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन विषयमा विद्यावारिधि वा सो सरहको उपाधि प्राप्त गरेका उम्मेदवारले पनि आवेदन दिन सक्नेछन्।
यस्तै, अस्पताल प्रशासन वा अस्पताल व्यवस्थापनसम्बन्धी विषयमा कम्तीमा तीन कार्यदिने तालिम लिएको हुनुपर्ने तथा अस्पताल व्यवस्थापनसम्बन्धी विषयमा अन्तर्राष्ट्रियस्तरका सूचकाङ्कित (इन्डेक्स) जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित गरेको भए त्यसको प्रमाणसमेत पेश गर्नुपर्नेछ।
नियमावलीअनुसार उम्मेदवारले चिकित्साशास्त्र वा अस्पताल व्यवस्थापन क्षेत्रमा कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा १५ वर्ष कार्य गरेको अनुभव पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।
आवेदकले अस्पतालको व्यवस्थापन, सुदृढीकरण, विकास र विस्तारसम्बन्धी पाँच हजार शब्दमा नबढ्ने चार वर्षे व्यावसायिक कार्ययोजनासमेत सिलबन्दी खाममा पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।
सरकारी सेवा, सार्वजनिक संस्था वा सङ्गठित संस्थामा कार्यरत स्थायी कर्मचारीले आवेदन दिँदा सम्बन्धित निकायको विभागीय स्वीकृति पत्र पनि अनिवार्य रूपमा संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता, तालिम, अनुभव तथा अन्य आवश्यक कागजातहरू समेत पेश गर्नुपर्नेछ। नियुक्तिसम्बन्धी थप विवरण मन्त्रालय र निजामती कर्मचारी अस्पतालको आधिकारिक जालस्थलमार्फत उपलब्ध गराइएको छ।
हेरौँ सूचनाः