क्यान्सर उपचारमा प्रयोग हुने औषधिको उपलब्धताबारे जानकारी
काठमाडौं, २३ जेठ । क्यान्सर उपचारमा प्रयोग हुने केही जीवनरक्षक औषधिको उपलब्धताबारे चासो बढिरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शुक्रबार बिजुलीबजारस्थित औषधि व्यवस्था विभाग तथा राष्ट्रिय औषधि प्रयोगशालाको आकस्मिक अनुगमन गर्नुभएको छ।
मन्त्री मेहताले दिउँसो विभाग पुगेर करिब डेढ घण्टा दुवै निकायको निरीक्षण तथा अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा उहाँले क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको आपूर्ति अवस्था, विभागमा प्राप्त गुनासा तथा सेवा प्रवाहसम्बन्धी विषयमा विभागका निमित्त महानिर्देशक शिवानी खड्गीसँग जानकारी लिनुभएको थियो।
छलफलका क्रममा पछिल्लो समय बजारमा देखिएको औषधि अभावको अवस्थाबारे समेत समीक्षा गरिएको थियो। केही औषधि आयातकर्ताले मूल्यवृद्धिको उद्देश्यले कृत्रिम अभाव सिर्जना गरेको हुन सक्ने विषयमा उठेका प्रश्नबारे पनि विभागसँग जानकारी मागिएको थियो।
जवाफमा निमित्त महानिर्देशक खड्गीले विभागको तत्काल प्राथमिकता जीवनरक्षक औषधिको आपूर्ति सुनिश्चित गर्नु रहेको बताउनुभयो। औषधि आयात तथा उपलब्धताको वास्तविक अवस्था बुझ्न आयातकर्ताहरूलाई दुई दिनभित्र विवरण पेश गर्न सार्वजनिक सूचना जारी गरिएको जानकारी दिँदै उहाँले तथ्यगत आधार प्राप्त नभई कारबाही प्रक्रिया अघि नबढाइने स्पष्ट पार्नुभयो।
अनुगमनका क्रममा खड्गीले विभागमा जनशक्तिको अभावका कारण कार्यसम्पादनमा दबाब बढेको उल्लेख गर्दै आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो।
अनुगमनपछि संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले मन्त्री मेहताले औषधि अभाव, सेवाप्रवाह तथा विभागीय कामकारबाहीका विषयमा गम्भीर चासो व्यक्त गरेको बताउनुभयो।
मन्त्रीज्यूले औषधि उपलब्धता, सेवामा देखिएका समस्या र सुधारका उपायबारे विस्तृत जानकारी लिनुभयो। विभागका चुनौतीहरूबारे पनि उहाँलाई अवगत गराइएको छ। समस्या समाधानका लागि मन्त्रालय सकारात्मक देखिएको छ, जसबाट सकारात्मक परिणाम आउने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो।
यसअघि नेपाल औषधि आयातकर्ता संघ (मियान) ले क्यान्सर उपचारमा अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिसप्लाटिन लगायतका औषधिको पुनः अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो। संघले जीवनरक्षक औषधिको आपूर्तिलाई प्राथमिकतामा राखी मन्त्रालय र विभागले द्रुत प्रक्रियामार्फत समस्या समाधानका लागि पहल गर्नुपर्ने सुझाव दिएको थियो।