ललितपुर, २६ असोज । किष्ट शिक्षण अस्पतालअन्तर्गत सञ्चालित किष्ट क्यान्सर सेन्टरले क्यान्सरबाट प्रभावित बिरामीलाई लक्षित गरी दुई साताभन्दा बढी समय निःशुल्क जनरल बेड र टेलिमेडिसिन सेवा उपलब्ध गराउने भएको छ ।
अस्पतालले प्यालिएटिभ केयर सेवा सञ्चालनको एक वर्ष पूरा भएको अवसर तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभियान ‘पिंक अक्टोबर’ का सन्दर्भमा असोज २६ देखि कात्तिक १४ गतेसम्म (अक्टोबर १२ देखि ३१ सम्म) उक्त सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
आर्थिक अवस्था कमजोर भएका तथा भौगोलिक विकटताका कारण स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका बिरामीलाई राहत पुर्याउने उद्देश्यले यो पहल गरिएको अस्पतालले जनाएको छ । निःशुल्क सेवाबाट क्यान्सरका बिरामीलाई आवश्यक उपचार तथा चिकित्सकीय परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
यसै अवसरमा अस्पतालले ‘पिंक लाइट्स अफ होप २०२६’ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा क्यान्सरमुक्त भएका व्यक्तिहरू तथा चिकित्सकहरूले गुलाबी मैनबत्ती प्रज्वलन गर्दै क्यान्सरविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभएको थियो ।
‘हरेक मैनबत्तीको आफ्नै कथा हुन्छ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रममा क्यान्सरविरुद्धको संघर्ष, साहस र आशालाई सम्मान गरिएको थियो । कार्यक्रमले क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारप्रति सामाजिक संवेदनशीलता बढाउन र रोगबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।
किष्ट क्यान्सर सेन्टरले प्यालिएटिभ केयर सेवामार्फत क्यान्सरलगायत गम्भीर रोगबाट प्रभावित बिरामीको पीडा कम गर्ने, जीवनको गुणस्तर सुधार गर्ने तथा बिरामी र तिनका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ । यस सेवाले रोगका कारण उत्पन्न हुने शारीरिक पीडाको व्यवस्थापनसँगै बिरामीको भावनात्मक तथा सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्य राखेको अस्पतालले जनाएको छ ।
अस्पतालले पिंक अक्टोबर अभियानका अवसरमा सर्वसाधारणलाई क्यान्सरसम्बन्धी सचेतना फैलाउन, समयमै स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरबाट प्रभावित व्यक्ति र परिवारलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ ।