काठमाडौं, २६ असोज । सरकारले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, सर्वसुलभ र अधिकारमुखी बनाउन कानुनी व्यवस्था गर्ने प्रक्रिया अघि बढाउने भएको छ। मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भएसँगै सरकारले यससम्बन्धी ऐन निर्माणको तयारी थालेको हो।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवाको प्रभावकारी व्यवस्थापन र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी आधार तयार गरिने जानकारी दिनुभयो।
“मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। अब यसैका आधारमा ऐन निर्माणको काम अघि बढाइनेछ,” उहाँले भन्नुभयो।
मन्त्री मेहताले मानसिक स्वास्थ्य सेवालाई अस्पतालमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले विनियोजित बजेटको प्रभावकारी उपयोग, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि तथा आवश्यक औषधिको सहज उपलब्धतामा ध्यान दिनुपर्ने बताउनुभयो।
मानसिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले मानसिक स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवासँग एकीकृत गर्दै नागरिकको पहुँच विस्तार गर्नुपर्ने बताउनुभयो।
मन्त्री मेहताका अनुसार १०० शय्याभन्दा बढी क्षमता भएका अस्पतालमा मानसिक स्वास्थ्य सेवाका लागि आवश्यक शय्याको व्यवस्था गर्ने तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयलाई सरकारले प्राथमिकतामा राख्ने तयारी गरेको छ।
विपद्का समयमा प्रभावित नागरिकमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगको आवश्यकता अझ बढ्ने उल्लेख गर्दै उहाँले राहत र उपचारसँगै आवश्यक परामर्श तथा मनोसामाजिक सहयोग उपलब्ध गराउनुपर्ने बताउनुभयो। विपद्बाट प्रभावित व्यक्तिको मानसिक स्वास्थ्यमा पर्ने असरलाई सम्बोधन गर्न सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई कमजोरीका रूपमा नलिई समयमै पहिचान, परामर्श र उपचारमा जोड दिनुपर्ने मन्त्री मेहताको भनाइ थियो। मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्तिप्रति समाजमा रहेको लाञ्छना र भेदभाव हटाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो।
मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी कठिनाइ भोगिरहेका व्यक्तिलाई आवश्यक सहयोग लिन आग्रह गर्दै आत्महत्या रोकथामसम्बन्धी हेल्पलाइन ११६६ मा सम्पर्क गर्नसमेत अनुरोध गर्नुभयो।