भरतपुर, १७ जेठ । नेपाल मेडिकल एसोसिएसन (एनएमए) को नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदभार हस्तान्तरण गरिएको छ।
भरतपुरमा जारी अल नेपाल मेडिकल कन्फ्रेन्स (एनेमेकन२०२६०) को अवसरमा आइतबार आयोजित विशेष समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो।
गत वैशाखमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा डा.बद्री रिजाल, वरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी, महासचिवमा डा विश्वराज दवाडी, कोषाध्यक्षमा डा संयुक्त आचार्य, सह–कोषाध्यक्षमा डा तेजसु सिंह मल्ल तथा सहसचिवमा डा. हुलास अग्रवाल निर्वाचित हुनुभएको थियो ।
यस्तै, प्रदेश संयोजक तथा उपाध्यक्षहरूमा कोशी प्रदेशबाट डा. रोशन खड्का, मधेश प्रदेशबाट डा अमित रञ्जन मिश्र, बागमती प्रदेशबाट डा. सुवास भट्टराई, गण्डकी प्रदेशबाट डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशबाट डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशबाट डा. रविन खड्का तथा सुदूरपश्चिम प्रदेशबाट डा.प्रमोद जोशी निर्वाचित हुनुभएको थियो ।
यसैगरी सदस्यहरूमा डा अमित झा, डा राकेश साह, डा पल्पसा श्रेष्ठ, डा बिना श्रेष्ठ, डा. शेषराज घिमिरे र डा. सुस्मित काफ्ले निर्वाचित भएका हुनुभएको थियो ।
समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालको जनस्वास्थ्य सुधारमा नेपाल मेडिकल एसोसिएसनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले चिकित्सक र बिरामी दुवैको हित सुनिश्चित हुने गरी तीनै तहका सरकारले नीतिगत वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नवनिर्वाचित अध्यक्ष डा.बद्री रिजालले सरकारले उपचार सेवामा ‘स्वास्थ्य समता शुल्क’ शीर्षकमा प्रस्ताव गरेको ३ प्रतिशत शुल्कले बिरामीमाथि थप आर्थिक भार पर्ने भन्दै उक्त व्यवस्था पुनर्विचार गर्न आग्रह गर्नुभयो । उहाँले चिकित्सकका पेशागत माग सम्बोधन गर्नुपर्ने, चिकित्सा पेशालाई विशिष्टीकृत पेशाका रूपमा मान्यता दिनुपर्ने तथा सोहीअनुसार सेवा–सुविधा सुनिश्चित गर्न राज्यलाई आग्रह गरे।
उहाँले चिकित्सकहरूको श्रमको उचित मूल्याङ्कन हुन नसकेको उल्लेख गर्दै बजेटमार्फत सेवा–सुविधासम्बन्धी गरिएका व्यवस्थामा आवश्यक संशोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
निवर्तमान अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सकका पेशागत सरोकारप्रति सरकार पर्याप्त संवेदनशील नदेखिएको टिप्पणी गरे। उनले जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै चिकित्सकहरूको कार्यपरिस्थिति र सेवा–सुविधामा सुधार आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा चिकित्सा क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै एनएमएका पूर्वअध्यक्ष ९२०६५–२०६७० डा. केदारनरसिंह केसीलाई सम्मान गरिएको थियो। साथै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट वरिष्ठ चिकित्सकद्वय डा। मदनकुमार पिया र डा. ऋषिकुमार अधिकारी सम्मानित हुनुभयो ।
त्यसैगरी ‘जेएनएमए–खड्गनन्दा मेडिकल रिसर्च अवार्ड’ डा. मेघा कोइरालालाई प्रदान गरिएको थियो भने ‘एनएमए सज्जनश्याम ट्रस्ट अवार्ड’ बाट डा. उमाकान्त तिवारी र डा. प्रणाम जैरू सम्मानित भएका थिए।
मुख्यमन्त्री बानियाँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशकी सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारी, संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीका विज्ञ सल्लाहकार डा.मनिहरलाल प्रधान, विश्व स्वास्थ्य संगठनका डा। विनोद गुप्ता, एनएमएका पूर्वअध्यक्षहरू तथा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन डा.आविष्कार पराजुलीले गर्नुभएको थियो ।