• आइतबार, १४ भदौ २०८३
  • images

    सरकारी १३ अस्पताल स्वास्थ्य बीमाको ‘प्रथम सेवा विन्दु’  कायम

    सरकारी १३ अस्पताल स्वास्थ्य बीमाको ‘प्रथम सेवा विन्दु’  कायम

    बुधबार, असार ३२ २०८२
    बुधबार, असार ३२ २०८२
    सरकारी १३ अस्पताल स्वास्थ्य बीमाको ‘प्रथम सेवा विन्दु’  कायम

    काठमाडौँ, ३२ असार । सरकारी १३ अस्पताल स्वास्थ्य बीमाको ‘प्रथम सेवा विन्दु’  कायम गरिएको छ । 
    स्वास्थ्य बिमा बोर्डले सरकारका केन्द्रीय अस्पताललाई रिफरल अस्पताल कायम गरेपछि त्यसको विरोध भएको थियो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम विन्दु कायमै रहने जानकारी दिनुभयो ।

    सामाजिक सञ्जालमा यस सम्बन्धमा जानकारी दिनुहुँदै मन्त्री पौडेलले लेख्नुभएको छ ,‘स्वास्थ्य बिमाको प्रथम सेवा विन्दु हट्दा नागरिकलाई परेको कठिनाइ सम्बोधन गर्दै नजिक प्रथम सेवा विन्दु नभएर सेवा लिन अप्ठ्यारा पर्ने स्थानहरूका केन्द्रीय सरकारी अस्पतालमा प्रथम विन्दु कायमै रहने गरी व्यवस्था मिलाएका छौँ ।’

    हालै स्वास्थ्य बिमा बोर्डले निजी तथा सरकारी अस्पतालहरूमा प्रथम सेवा विन्दु हटाएर स्थानीय तहमा नै व्यवस्था गर्ने निर्णय गरेको थियो ।

    तर, त्यस व्यवस्थाले नजिक केन्द्रीय अस्पताल नभएका स्थानका नागरिकलाई झनै समस्या परेको गुनासो प्राप्त भए पछि मन्त्री पौडेलले स्वास्थ्य बिमा बोर्डमार्फत समस्या समाधान गर्ने प्रयास थालेका हुन् ।

    अब बोर्डले मन्त्रालयको पत्रअनुसार नजिकै प्रथम सेवा विन्दु नभएका स्थानमा वैकल्पिक व्यवस्था नहुँदासम्म केन्द्रीय सरकारी अस्पतालहरूमा प्रथम सेवा विन्दुको सुविधा उपलब्ध गराउने छ ।

    मन्त्री पौडेलले हरेक स्थानीय तहमा प्रथम सेवा विन्दु नभएका स्थानमा स्थापना तथा भएकाको सेवा सुविधा वृद्धिका लागि प्रदेश र स्थानीय सरकारसँग सहकार्य समेत गर्ने प्रतिबद्धता जनाउनुभयो । 

    ‘स्वास्थ्य बिमा व्यवस्थित गर्दै हरेक स्थानीय तहमा कम्तीमा एक प्रथम सेवा विन्दु सञ्चालन गर्ने नीतिअन्तर्गत प्रथम सेवा विन्दुका लागि उपयुक्त स्वास्थ्य संस्था नभएका तहमा स्वास्थ्य संस्था स्थापना तथा स्तरोन्नति गर्न प्रदेश सरकार र सम्बन्धित स्थानीय तहसँग समन्वय र सहकार्य गरी नागरिकलाई आफ्नै घरदैलो नजिकै स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ उहाँ भन्नुभएको छ ।

    स्वास्थ्य बिमा कार्यक्रमलाई थप सुधार गर्दै नागरिकको पहुँच वृद्धिसँगै यसको दिगोपना र विस्तारका लागि हामी निरन्तर प्रयत्नशील रहेको भन्दै मन्त्री पौडेलले यस कार्यमा प्राप्त सल्लाह र सुझाव सदैव स्वागत गर्ने समेत उल्लेख गर्नुभएको छ ।  

    प्रथम सेवा विन्दु कायम रहने १३ अस्पताल
    १. कोशी अस्पताल
    २. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
    ३. नारायणी अस्पताल, बीरगञ्ज
    ४. गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज
    ५. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर
    ६. भरतपुर अस्पताल
    ७. पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा
    ८. जीपी कोइराला श्वासप्रश्वास केन्द्र, तनहुँ
    ९. सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके
    १०. भेरी अस्पताल, नेपालगञ्ज
    ११. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
    १२. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
    १३. डडेल्धुरा अस्पताल, डडेल्धुरा

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार