• सोमबार, १५ भदौ २०८३
  • images

    मानसिक स्वास्थ्यमा भरतपुर महानगरले काम गरिरहेको छ: रेणु दाहाल

    मानसिक स्वास्थ्यमा भरतपुर महानगरले काम गरिरहेको छ: रेणु दाहाल

    भरतपुरमा मानसिक अस्पताल  स्थापना गर्नुपर्छ

    बिहीबार , वैशाख १८ २०८२
    बिहीबार , वैशाख १८ २०८२
    मानसिक स्वास्थ्यमा भरतपुर महानगरले काम गरिरहेको छ: रेणु दाहाल

    चितवन, १८ वैशाख । भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भरतपुरमा मानसिक अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो ।
    उहाँले  मानसिक अस्पताल संचालन गर्ने साझा संकल्प गर्नुपर्ने बताउनुभयो । दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलनको  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा उद्घाटन गर्दै उहाँले अरु विशेषज्ञ सेवा लिने थलोको रुपमा विकास भएको भरतपुरमा मानसिक रोगको उपचारमा कमी भएको बताउनुभयो ।

    Sammelan mental health .jpg

    प्रमुख दाहालले मानसिक स्वास्थ्यका बारेमा पनि महानगरले काम गर्दै आएको  बताउनुभयो । हरेक घरमा कोही न कोही मानसिक रोगी रहेको चर्चा गर्दै उहाँले भन्नुभयो “मनोरोगको काउन्सिलिङ (परामर्श) गर्ने काम पनि गरिरहेका छौं ।”
    उहाँले मानसिक स्वास्थ्य सम्मेलनले जुन खालको निष्कर्ष निकाल्छ, त्यसलाई नीति निर्माणको तहमा पु¥याउन र कार्यान्वयन गर्न हामी सबैले योगदान दिनु जरुरी रहेको बताउनुभयो ।
      दाहालले  भन्नुभयो “नीति निर्माण भईसकेपछि कार्यान्वयनको चरणमा स्थानीय सरकारले के कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि भरतपुर महानगरपालिका तयार छ ।”

    Mental confarance335.jpg

    भरतपुरमा मानसिक अस्पताल थप्ने प्रशंगमा उहाँले मेडिकल सिटीमा अर्काे एउटा आयाम थप्न हामी इच्छुक र तत्पर रहेको बताउनुभयो ।
     संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारका प्रतिनिधि सम्मेलनमा सहभागी भएको भन्दै उहाँले भोलिका दिनमा स्वास्थ्यको कस्तो नीति र कार्यक्रम ल्याउने भन्नेमा आफूहरु सबै जिम्मेवार भएको बताउनुभयो ।

    दाहालले भरतपुर महानगरपालिका जनताको स्वास्थ्यप्रति चिन्तित रहेको चर्चा गर्दै  एक वडा एक स्वास्थ्य नीति अन्तर्गत भरतपुर महानगरपालिकाका २९ वटा वडामा ४२ वटा स्वास्थ्य संस्था रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “भरतपुरका प्रत्येक वडामा स्वास्थ्य केन्द्र छन् ।” प्राथमिक उपचारको व्यवस्था महानगरले घरदैलोमा गरेको भन्दै प्रमुख दाहालले जेष्ठ नागरिकहरुलाई घरघरमै पुगेर स्वास्थ्य सेवा दिंदै आएको बताउनुभयो ।

     


    कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सीमित साधन र स्रोतका भरमा मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै समुदायस्तरमा अझै पनि मानसिक रोगको उपचारको पहुँच पुग्न नसकेको बताउनुभयो ।

    सरकार मानसिक स्वास्थ्यको पहुँच बढाउन एक्सनमा उत्रिन तयार रहेको भन्दै सचिव देवकोटाले यस सम्मेलनले निकाल्ने निष्कर्ष नीति निर्माण तहमा सहयोगी बन्ने बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विशेषज्ञ उत्पादन गर्नेतर्फ पनि राज्य लागिरहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो “यो सम्मेलनले समाजको तल्लो तहसम्म सन्देश प्रवाह गर्ने छ, र केही हदसम्म भएपनि मानसिक समस्या न्यूनिकरण गर्न भूमिका खेल्नेछ ।”

    दाङ्गको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले देशको विकास सूचक त्यहाँका जनताको स्वास्थ्य भएको चर्चा गर्दै स्वस्थ नागरिकबाट मात्रै समृद्धि देश बनाउन सकिने बताउनुभयो ।

    कार्यक्रमका अध्यक्ष एवं चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रा.डा.हरिश्चन्द्र न्यौपानेले समाजका लागि केही गर्न सकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “आफूले जानेको सीप र ज्ञान समाजमा दिनका लागि कार्यक्रम फलदायी हुनेछ ।” अन्तर्राष्ट्रिय स्तरको यो कार्यक्रम आफूहरुले आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने बताउनुभयो । विश्व शान्तिको कामना गर्दै प्रा.डा. न्यौपानेले शान्तिबाट नै मानसिक स्वास्थ्य पनि राम्रो हुने चर्चा गर्नुभयो ।

    कार्यक्रम संयोजक श्रीधर पौडेलले विकसित देशहरुमा पनि मानसिक रोग विकराल रुपमा रहेको भन्दै भन्नुभयो “विकसित देशमा मानसिक रोग लुकाउने प्रचलन हड्दै गएको छ, यहाँ अझै पनि लुकाउने प्रचलन छ ।” स्वदेशी तथा विदेशी विशेषज्ञ, अनुसन्धानकर्ता, चिकित्सक, समाजसेवीहरुको छलफलबाट निष्कर्ष निकालिने भन्दै पौडेलले नेपालको मानसिक स्वास्थ्यका समस्या न्यूनिकरण गर्न सम्मेलन फलदायी हुने बताउनुभयो ।

    मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको उपकुलपति डा.प्रदिप ज्ञवाली, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ डा. शैलेन्द्र अधिकारी लगायतले बोल्नु भएको कार्यक्रमको उद्घाटन सत्र डा. सिम्रन चौधरीले सञ्चालन गर्नुभएको थियो ।

    सम्मेलनमा अमेरिका, नर्वे, भारत, नेपाल लगायतका देशका सहभागी रहेका छन् । सम्मेलनमा ६० भन्दा बढी प्रस्तुती र एक सयभन्दा बढी वक्ता रहनु हुनेछ ।

    सम्मेलनमा मनोरोग विशेषज्ञ, मनोविद्, मनोसामाजिक कार्यकर्ता, स्वास्थ्य क्षेत्रका विज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, सामाजिक संघ संस्था र स्वास्थ्य शिक्षाका विद्यार्थी समेत सहभागी भएका छन् । “समुदायका लागि सामुदायसँग मानसिक स्वास्थ्यमा सहकार्य” भन्ने नाराका साथ भईरहेको सम्मेलन तीन दिन सम्म सञ्चालन हुनेछ

    चितवन मेडिकल कलेज, नेपाल इन्ष्टिच्युट अफ मेन्टल हेल्थ, हेल्थ फाउण्डेसन नेपाल, युएस, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका स्वदेशी र केही विदेशी संस्थाहरु समेतको सहकार्यमा सम्मेलन भईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार