काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको दुई दिने नेपाल स्वास्थ्य सम्मेलन ‘नेपाल हेल्थ कन्क्लेभ २०२४’ सम्पन्न भएको छ ।
सम्मेलनले अनुसन्धान, तथ्याङ्क विश्लेषण र प्रवासी सहभागिता इकाइ स्थापना गर्ने प्राथमिकता योजनालगायत १० बुँदे योजना सार्वजनिक गरेको छ ।
सम्मेलनमा प्रवासमा रहेका नेपाली स्वास्थ्यकर्मी, विज्ञ तथा चिकित्सकलाई नेपालको स्वास्थ्य सेवा तथा प्रणाली सुधारमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा विशेष छलफल भएको थियो ।
उक्त इकाइ स्वास्थ्य मन्त्रालय अन्तर्गत रहनेछ । त्यसमा प्रवासी परामर्श दातृ समूहले सहयोग गर्नेछ । सम्मेलनले प्रवासी गतिविधिलाई राष्ट्रिय वार्षिक समीक्षामा समावेश गर्ने, प्रवासी नेपालीको म्यापिङ र तथ्याङ्क अद्यावधिक गर्ने,श्रम प्रवासीको स्वास्थ्य समस्यामा प्रवासी नेपालीको भूमिका खोज्ने लगायतका १० बुँदे प्राथमिकता योजना सार्वजनिक गरेको छ ।
यी हुन् १० बुँदे प्राथमिकता योजना
१. अनुसन्धान, तथ्याङ्क विश्लेषण र प्रवासी सहभागिता इकाई स्थापनाः स्वास्थ्य मन्त्रालय अन्तर्गत यो इकाईलाई प्रवासी परामर्श दातृ समूहले सहयोग गर्ने ।
२. प्रवासी गतिविधिलाई राष्ट्रिय वार्षिक समीक्षामा समावेश गर्ने ।
३. आइडियारप्रोजेक्ट बैक स्थापनाः स्वास्थ्य क्षेत्रको आवश्यकता सम्बोधन गर्दै स्टार्ट अप र लगानी प्रवर्द्धनका लागि केन्द्रीय प्लेटफर्मको विकास ।
४. प्रवासी नेपालीको म्यापिङ र तथ्याङ्क अद्यावधिक गर्ने ।
५. निरन्तर शिक्षण र क्षमता विकासका लागि भर्चुअल ज्ञान प्लेटफर्म निर्माण ।
६. स्वास्थ्य क्षेत्रका लागि प्राथमिकता प्राप्त र कम प्रतिनिधित्व भएका मुद्दाहरूमा प्रवासी अनुसन्धान अनुदानको व्यवस्था ।
७. श्रम प्रवासीको स्वास्थ्य समस्यामा प्रवासी नेपालीको भूमिका खोज्ने ।
८. प्रवासी सहभागिता बाट नयाँ डायग्नोस्टिक र क्रिटिकल केयर सेवाको परीक्षण ।
९. प्रवासी नेपालीका लागि ग्रामीण स्वास्थ्य फेलोसिप कार्यक्रमको विकास र सञ्चालन ।
१०. स्वास्थ्य क्षेत्रमा लगानीका लागि आवश्यक नीति गत र कानुनी व्यवस्था पहिचान गर्न नीति विश्लेषण ।