काठमाडौँ, ८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन का महानिर्देशक टेड्रोस अधानोम घेब्रेयेसस बीच भेटवार्ता भएको छ ।
स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भएको भेटमा नेपाल र विश्व स्वास्थ्य सङ्गठनबीचको सहकार्य, स्वास्थ्य क्षेत्रको सुदृढीकरण तथा आगामी सहयोगका विषयमा छलफल भएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भेटवार्ताका क्रममा महानिर्देशक घेब्रेयेससले नेपालसँगको सहकार्य र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
भेटपछि मन्त्री मेहताले विश्व स्वास्थ्य सङ्गठन नेतृत्वसँगको छलफल उपलब्धिमूलक र सकारात्मक रहेको बताउनुभयो । उहाँले नेपालको स्वास्थ्य प्रणाली सुधार, जनस्वास्थ्य सेवा विस्तार तथा अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धिमा यस्ता भेटवार्ता महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
विश्व स्वास्थ्य सभामा सहभागी हुने क्रममा मन्त्री मेहताले भारत र चीनका समकक्षीहरूसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको मन्त्रालयले जनाएको छ ।
मन्त्री मेहता तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विश्व स्वास्थ्य सभामा सहभागी हुन स्वीट्जरल्यान्ड जानुभएको हो ।