स्वास्थ्यमा उत्तरदायी पत्रकारिताको बहस हुने
काठमाडौँ, ४ मङ्सिर । नेपालको स्वास्थ्य प्रणालीलाई सुदृढ गर्ने लक्ष्य सहित मङ्सिर २८ र २९ गते चौथो राष्ट्रिय स्वास्थ्य सम्मेलनको आयोजना हुँदैछ ।
नेपाल चिकित्सक सङ्घको आयोजनामा सम्मेलन आयोजना हुन लागेको हो ।
सम्मेलनको मुख्य थिम ‘हेल्थ वियोण्ड हेल्थ’ रहेको छ ।
सङ्घका अध्यक्ष डा. अनिलबित्रम कार्कीले नेपालको स्वास्थ्य प्रणालीलाई समृद्ध बनाउने मुख्य एजेण्डासहित सम्मेलन आयोजना गरिएको बताए ।
उनले नेपालमा स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाउन समेत सम्मेलनले मद्धत गर्ने बताए ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अझै पनि चुनौतीपूर्ण रहेको भन्दै सम्मेलनले गुणस्तरीय स्वास्थ्यलाई जोड दिइएको बताए ।
सम्मेलन बारे अध्यक्ष कार्कीले स्वास्थ्य स्वास्थ्यसँग मात्र जोडिएको विषय नभएकोले स्वास्थ्य भन्दा अलग विषयले पनि स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पारिरहेको बताए ।
पत्रकार सम्मेलनमा सङ्घका वरिष्ठ उपाध्यक्ष डा.बद्री रिजालले विभिन्न थिममा सम्मेलन केन्द्रित हुने बताए । उनका अनुसार स्वास्थ्यः चुनौती र अनुभवहरु, परिवर्तनका लागि स्वास्थ्य प्रणाली र युनिभर्सल हेल्थ कभरेज, अनुसन्धान, अध्ययन र सहकार्यको क्षमता निर्माणजस्ता विषयमा सम्मेलन केन्द्रित रहने छ ।
सङ्घका महासचिव डा. सञ्जीव तिवारीले सम्मेलनले स्वास्थ्य क्षेत्रमा नयाँ आयाम खोजिने बताए । उनले सम्मेलनले अनुसन्धानकर्ता, नीति निर्माता, चिकित्सक सञ्चारकर्मी तथा सरोकारवालाहरुलाई एकै ठाउँमा ल्याई बहस गराई समाधानका उपायहरुको खोजी गरिने जानकारी दिए ।
सम्मेलनका को चिएर डा. प्रज्ज्वल प्याकुरेलले स्वास्थ्य र महामारीका लागि पूर्वतयारी, ‘चिकित्सा शिक्षा सुधार र नवप्रवर्तन, स्वास्थ्य सञ्चारमाध्यम, जनचेतना र उत्तरदायी पत्रकारिता, संक्रामक रोग, व्यावसायिक र वातावरणीय स्वास्थ्यमा पानी सरसफाइ र पोषणको प्रभाव लगायतका विषयमा सम्मेलन केन्द्रित रहने बताए।