• आइतबार, १४ भदौ २०८३
  • images

    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्टः स्वास्थ्यमन्त्री पौडेल

    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सेवा उत्कृष्टः स्वास्थ्यमन्त्री पौडेल

    एक वर्षभित्र सातै प्रदेशमा प्रत्यारोपण सेवा सुरु गर्ने दाबी

    आइतबार, मंसिर ३० २०८१
    आइतबार, मंसिर ३० २०८१
    धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको  सेवा उत्कृष्टः स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौँ, ३० मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दिइरहेको सेवा उत्कृष्ट रहेको बताएका छन् । 
    उनले नेपालमा अंग प्रत्यारोपणको क्षेत्रमा केन्द्रले उत्कृष्ट सेवा दिइरहेको दाबी गर्दै एक वर्षभित्र सबै प्रदेशमा प्रत्यारोपण सेवा बिस्तार हुने घोषणा गरे । ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फ्रेन्स’ को आइतबार समापन कार्यक्रममा मन्त्री पौडेलले प्रत्यारोपण सम्बन्धी यस्ता सम्मेलनले स्वास्थ्य क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    himalayan conf.jpeg

    उनले केन्द्रले मिर्गौला र कलेजो प्रत्यारोपणमा संसारका प्रमुख प्रत्यारोपण केन्द्रले दिने सेवा सरह प्रत्यारोपण भइरहेको र शतप्रतिशत सफल हुन सकेको बताए । उनले सम्मेलनबाट आएका कुराहरुलाई कानूनी रुपमा सम्वोधन गर्नु पर्ने भएमा विज्ञको राय सुझाव सहित आफूलाई पेश गर्न अनुरोध गरेका छन् ।

    नेपालमा अङ्ग प्रत्यारोपणको क्षेत्रमा भएका कामहरुको बारेमा आफू जानकार रहेको भन्दै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले गरेको कामको प्रंशसा गरे ।

    मन्त्री पौडेलले सोही अवसरमा मस्तिष्क मृत्यु पश्चातको अंगदाता तथा ग्रहणकर्ताको प्रतिक्षा सूची सहितको राष्ट्रिय अभिलेखको अनलाईन सफ्टवेरको शुभारम्भ समेत गरे ।

    उक्त सफ्टवेरमा अङ्गदान सम्बन्धि अनलाइन फारम भर्न सकिने, अङ्ग फेल भएका बिरामीहरुको बिबरण र मस्तिष्क मृत्यु भएका ब्यक्तिबाट प्राप्त अङ्ग प्रत्यारोपण  नियमावलीमा भए बमोजिम वितरण गर्न स्वचालित प्रणालीबाट निर्णय हुने व्यवस्था मिलाइएको छ ।

    अङ्ग प्रत्यारोपणमा सक्रिय चिकित्सकहरुले खोलेका छुट्टा छुट्टै संस्थाको संयुक्त आयोजनामा शनिबारदेखि सुरु भएको दुई दिने सम्मेलनमा अमेरिका, बेलायत, जापान, नेदरल्यान्ड, भारत लगायतका देशका प्रत्यारोपण विज्ञहरुको उपस्थिती रहेको थियो । सम्मेलनमा प्रत्यारोपणसंग सम्बन्धित २६ वटा कार्यपत्र प्रस्तुत भएको थियो ।

    त्यसमध्ये १९ वटा विदेशी विज्ञहरुको रहेको थियो ।

    सम्मेलन आयोजक समितिका अध्यक्ष तथा वरिष्ठ प्रत्यारोपण विशेषज्ञ डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण क्षेत्रमा अन्य देशहरुमा भएका नयाँ कुराहरुको जानकारी लिंदै नेपालमा कसरी प्रत्यारोपणको क्षेत्रमा अझ बढी काम गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित रहेको बताए । उनले सम्मेलनमा भएका छलफल र विचार विमर्शले अंगदानलाई प्रवर्द्धन गर्न उत्प्रेरित गरेको बताए ।

    कार्यक्रममा बरिष्ठ युरोलोजिष्ट डा पवनराज चालिसे, बरिष्ठ नेफ्रोलोजिष्ट डा। कल्पनाकुमारी श्रेष्ठ लगायतले सम्मेलनको उपलव्धीबारे जानकारी दिदै सहभागिहरुलाई धन्यवाद दिएका थिए । त्यसअघि स्वदेशी तथा विदेशी विज्ञहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार