१०० बाट ५०० शैय्या बढाइने
काठमाडौँ, १० पुस । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई पाँच सय शैय्यामा विस्तार गरिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको एक वर्षको उपलब्धि सम्बोधन गर्ने क्रममा केन्द्रलाई ५०० शैय्यामा विस्तार गर्न लागिएको बताए । त्यसको लागि प्रक्रिया अघि बढीसकेको प्रधानमन्त्रीको भनाइ थियो । हाल केन्द्र १०० शैय्यामा संचालित छ ।
‘मानव अंग प्रत्यारोपण केन्द्रलाई पाँच सय शय्याको अत्याधुनिक अस्पतालको रुपमा विकास गर्न सरकारले प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।
गत वर्ष केन्द्रलाई प्रतिष्ठान बनाउने बताइएको थियो। तर उक्त काम अगाडि बढ्न सकेको थिएन।
हाल प्रत्यारोपण केन्द्र भक्तपुर अस्पतालको स्वामित्वमा रहेको भवनबाट सेवा दिइरहेको छ । केन्द्रले लामो समय देखि आफ्नै भवनबाट सेवा दिनका लागि जग्गाको व्यवस्था गर्न सरकारसंग माग गर्दै आएको छ ।