काठमाडौं । कोभिड १९ विरुद्धको खोप किन्न सरकारले एसियाली विकास बैंकबाट १९ अर्ब ५८ करोड रुपैयाँ ऋण लिएको छ । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच १९ अर्ब ५८ करोड रुपैंया बराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा आज सम्झौता भएको हो ।
आज अर्थमन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्ने मन्त्रालयको भनाई छ । यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन् ।
कार्यक्रममा एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले यो सम्झौता कोभिड १९ को चक्र तोडेर नागरिक जीवनको रक्षा गरी आर्थिक एवं सामाजिक पुनरुत्थानतर्फ अघि बढ्न सहयोगीसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने उल्लेख गर्दै खोप अभियानले नागरिक जीवनको सुरक्षा गरी अर्थतन्त्रको पुनरुत्थानमा मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
यस बाहेक एशियाली विकास बैंकबाट परिचालित प्राविधिक सहायताले खोप वितरणलााई प्रभावकारी बनाउने र सञ्चार तथा सामुदायिक सहभागितालाई बढावा दिँदै कोभिड १९ विरुद्ध जनचेतना फैलाउन सहयोग पुग्ने विश्वास सरकारले लिएको छ ।