एक हजार १५६ जनाले पाए स्वास्थ्य सेवा
म्याग्दी, २८ वैशाख । ललितपुरस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकले म्याग्दीमा गरेको नि:शुल्क स्वास्थ्य शिविरमा एक हजार १५६ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
प्यासिफिक क्लिनिकले म्याग्दीका चार वटा स्थानमा आयोजना गरेको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको निशुल्क जाँच शिविरमा एक हजार १५६ जनाले स्वास्थ्य सेवा लिएको प्यासिफिकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
शिविरसंगै सचेतना कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा चार वटै स्थानमा गरेर ९ हजार ६ सय जनालाई क्यान्सरका विषयमा जनचेतना दिइएको छ। शिविरमा एक हजार ६७ जनाको पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि भिआइए परीक्षण गरिएको थियो। यस्तै एक हजार ८९ जनाको स्तन क्यान्सर पहिचानका लागि परीक्षण गरिएको थियो।
भिआइए परीक्षण गरिएकामध्ये ९४ जनामा पोजिटिभ रिपोर्ट आएको छ। स्तन परीक्षण गरिएकामध्ये ६ जनामा गाँठा रहेको पत्ता लागेको छ। यस्तै परीक्षणका क्रममा २६ जनामा पाठेघर खस्ने समस्या रहेको पाइएको विज्ञप्तिमा उल्लेख छ।
शिविरमा किशोर कुमार प्रधानाङ्ग, प्रणीता जोशी, सीता अधिकारी, सुशीला धिमला लगायतको टोलीले सेवा दिएको थियो।
प्यासिफिकले सामाजिक उत्तरदायीत्व अन्तर्गत नि:शुल्क शिविरको आयोजना गरेको हो।