काठमाडौँ, १६ पुस । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन थप दुई जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्राविधिक सहयोगमा शुक्रबार पाँचौँ र छैटौँ प्रत्यारोपण भएको हो ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार केन्द्रको प्राविधिक टोलीको नेतृत्वले पोखरामा एकैदिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरेको हो ।
प्रत्यारोपण केन्द्रका निर्देशक श्रेष्ठका अनुसार शुक्रबार काठेपुल गाउँपालिका ४ बागलुङका २४ वर्षीय बोमबहादुर पुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उहाँलाई ५० बर्षीया आमा कमला पुनले मिर्गौला दान गर्नुभएको थियो । यस्तै शुक्रबार रुपा गाउँपालिका ५ कास्कीका २३ बर्षका निरज श्रेष्ठको पनि मिर्गौला प्रत्यारोण भएको छ । उहाँलाई ५३ वर्षका बुबा उत्तमकुमार श्रेष्ठले मिर्गौला दान दिनुभएको हो ।
शुक्रबार प्रत्यारोपण गरिएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
शुक्रबारको प्रत्यारोपण कार्यको नेतृत्व भक्तपुरबाट गएका प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो । उहाँसंगै प्रत्यारोपण केन्द्र भक्तपुरबाट डा दीपेश श्रेष्ठ, डा रबिकिरण गौतम, डा हरि बराल पनि सहभागी हुनुहुन्थ्यो । यस्तै एनेस्थेसियोलोजिष्ट डा रस्मित श्रेष्ठ, स्टाफ नर्सहरु कामना विगाती, दीपा केसी पनि प्रत्यारोपण केन्द्रबाट पोखरा जानुभएको थियो ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाईँ, डा सन्तोष श्रेष्ठ, डा डेभिड श्रेष्ठ, नेफ्रोलोजिष्ट डा जुनु श्रेष्ठ पनि प्रत्यारोपण कार्यमा सहभागी हुनुहुन्थ्यो ।
मिर्गौला प्रत्यारोपणलाई देशव्यापी बनाउने सरकारको अभियान अन्तरगर्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग सम्झौँता गरी प्रत्यारोपण कार्य प्रारम्भ गरेको हो । प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरामा पहिलो प्रत्यारोपण गत ९ असारमा भएको थियो । त्यस यता अहिलेसम्म ६ वटा प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
सम्झौँता अनुसार प्रतिष्ठानमा प्रत्यारोपणसंगै प्रत्यारोपण केन्द्रले त्यहाँका जनशक्तिलाई पनि आवश्यक तालिम दिई प्रत्यारोपणका लागि सक्षम बनाउने उल्लेख छ । प्रतिष्ठान आफू पूर्ण सक्षम नहुँदासम्म प्रत्यारोपण केन्द्रबाट नै टोली गएर प्रत्यारोपणमा सघाउने सम्झौतामा उल्लेख छ ।
त्यसो त प्रत्यारोपण केन्द्रले पोखरा मोडलमै प्रादेशिक अस्पताल सुर्खेत, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडामा पनि मिर्गौला प्रत्यारोपण सेवा अघि बढाउने तयारी गरेको छ ।