काठमाडौं, २७ असार । वीर अस्पतालले अब महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण गर्ने भएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्राडा. जागेश्वर गौतमले अब महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको जानकारी गराउनुभयो ।
अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटनका क्रममा उहाँले अस्पतालले अब गर्ने कार्यको योजना सुनाउँदै एक महिनामा १५ जनाको मिर्गौला प्रत्यारोपण हुने जानकारी पनि दिनुभयो । प्रत्यारोपणका लागि हामीले सम्र्पूण तयारी पूरा गरेको जानकारी दिदै उहाँले तत्काल अस्पतालमा मिर्गौला प्रत्यारोपण सम्पन्न हुने बताउनुभयो ।
उहाँले हाल भइरहेको डाइलासिस सेवालाई पनि बढाइने जानकारी दिनुभयो । वीर अस्पतालमा सन् २००८ देखि प्रत्यारोपणविद डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा निरन्तर मिर्गौला प्रत्यारोपण हुदै आएको थियो । डा. श्रेष्ठ भक्तपुरस्थित धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपणमा कमी आएको थियो । पछिल्लो दुई वर्ष देखि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण हुन सकेको छैन ।