काठमाडौं । औषधि व्यवस्था विभाग नेपालगञ्जले सुर्खेतका ५ औषधि पसल (फार्मेसीमा) सिलबन्दी गरेको छ। विभागका फार्मेसी अधिकृत (निरीक्षक) दिपेन्द्र कुमार साहले औषधि पसलहरुको अनुगमनका क्रममा मापदण्ड विपरित संचालन भएको पाइएपछि ती औषधि पषलहरु सिल गरिएको जानकारी दिनुभयो ।
साहका अनुसार सिलबन्दी गरिएका फार्मेसीमा विरेन्द्रनगर ११ स्थित रारा क्लिनिकको फार्मेसी, विरेन्द्रनगर ११ कै कालिका फार्मेसी, गुर्भाकोट ९ स्थित ज्ञानपुञ्ज स्वास्थ्य क्लिनिकको फार्मेसी, विरेन्द्रनगर बजारको आचार्य मेडिकल हल र गुर्भाकोट १३ गुमिको गुमिचुली फार्मेसी रहेका छन्। ती औषधि पषलले दर्ता नगरी संचालन गरेको, दर्ता नभएको औषधिहरु संचय गरेको, रद्द भइ सकेको फार्मेसीको नामबाट कारोबार गरेको तथा नविकरण नरहेको र व्यवसायीको अनुपस्थितिमा संचालन ल्याएकोपाइएपछि सिलबन्दी गरिएको हो।
वीरेन्द्रनगर बजारको आचार्य मेडिकल हललाई सिलबन्दी गरी १० दिनको लागी निलम्बन गरिएको छ। निरीक्षक साहले करिब २५ वटा औषधि पसलहरुको अनुगमन गरेको र त्यसमध्ये केही औषधि पसलहरुले लागु तथा मनोद्दीपक औषधिको सुरक्षित साथ भण्डारण नगरी रेकर्ड बिना बिक्रि वितरण गरेको पाइएको बताउनुभयो। कोहिले दर्ता नभएको औषधि संचय गरेको तथा कोहीमा तालिम प्राप्त व्यक्ति तथा फर्मासिस्ट नभएको र नियमित बिक्रि बिल दिने नगरेको पाइएपछि कारवाहीको लागि पत्र काटेर औषधि व्यवस्था विभाग नेपालगन्जमा उपस्थित हुन निर्देशन दिएको बताउनुभयो ।