काठमाडौँ, १४ भदौ । औषधि व्यवस्था विभागले प्रतिजैविक तथा एन्टीबायोटिक औषधिको लेबलमा रातो धर्का राख्न निर्देशन दिएको छ ।
एन्टीबायोटिक औषधिको जथाभावी प्रयोगलाई रोक्न सरकारले औषधिको खोलमा रातो धर्का (रेड लाइन) कोर्नु पर्ने व्यवस्था ल्याएको हो ।
विभागले औषधि सल्लाहकार समितिको ५५ औ बैठकले नै सिफारिस गरेको थियो ।
गैर स्वास्थ्यकर्मीहरुले सजिलै पहिचान गर्न तथा सो सम्वन्धि चेतनामुलक सन्देश प्रवाह गर्ने र सो को परिपालना गराउने उदेश्य अनुरुप औषधि सल्लाहकार समितिको ५५ औ बैठकबाट सिफारिस भएको थियो। सोही सिफारिसलाई गत ११ भदौमा विभागीय स्तरीय निर्णयबाट अघि बढाइएको हो ।
औषधि व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै अब बजारिकृत हुने समूह “ख” प्रतिजैविक वर्गको औषधिहरुको पहिलो र दोस्रो प्याकिङ्ग सामग्रीको मौज्दात सकिएपछि वा निर्णय भएको मितिले बढीमा छ महिना पछि उत्पादन हुने औषधिहरुमा अनिवार्य रुपमा लेवलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।
विभागका महानिर्देशक नारायण ढकालका अनुसार विश्व स्वास्थ्य संगठनले तयार गरेको ग्लोबल एक्सन प्लान र सोही आधारमा नेपालमा पनि नेशनल एक्सन प्लान तयार गरी सकेको र लागू गर्ने चरणमा रहेको सन्दर्भमा यो योजना अनुरुप प्रयोगकर्ता लगायत गैर स्वास्थ्यकर्मीलाई सजिलै पहिचान गर्न तथा सो सम्वन्धी चेतनामुलक सन्देश प्रवाह गर्न यस्तो व्यवस्था लागू गर्न खोजिएको बताउनुभयो ।
नेपालमा यो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिए जथाभावी एन्टीबायोटिक औषधि किन्ने प्रवृत्ति घट्ने र यसले माइक्रोबियल रेसिस्टेन्सको समस्या कम हुने विश्वास औषधि क्षेत्रका विज्ञहरुको बुझाई रहेको छ ।
हेरौँ सूचनाः
