एक मात्रा लगाए पुग्ने
काठमाडौं,२८ असार । कोभ्याक्स सुविधा अन्तर्गत अमेरीकाले दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाललाई हस्तान्तरण गरेको छ ।
बिहान काठमाडौं आईपुगेको साे खाेप बालुवाटारमा आयाेजित एक कार्यक्रममार्फत अमेरिकी राजदूत रेण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभयो । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानिसले लगाउन पाउने छन् ।
यसअघि खोप लिनका लागि स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ विमानस्थल पुग्नुभएको थियो। यो खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न मिल्ने तथा एक पटक मात्र लगाए मात्रा पुग्ने खोप हो । यस्तै भारतको सिरम इन्स्टिच्युटबाट खरीद गरिएको २० लाख मध्ये १० लाख डोज कोभिसिल्ड, चीनको सिनोफर्माबाट खरीद गरिएको ४० लाख मध्ये १० डोज भेरोसेल समेत आइसकेको छ । यो नेपालमा प्रयोग हुने कोरोना विरुद्धको तेस्रो खोप हो। यसअघि नेपालमा अक्सफोड अस्ट्राजेनकाले विकास गरेको भारतको सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड र चीनको सिनाफार्मको भेरोसेल खोप प्रयोग भइरहेको छ।
कोभ्याक्स सुविधाबाट भने ३ लाख ४८ हजार डोज मात्रै आएको छ । कोभ्याक्सले २० प्रतिशत जनतालाई पुग्ने गरी करीब १ करोड २० लाख डोज खोप निशुल्क उपलव्ध गराउने बताउँदै आएको छ ।
अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो।
नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।
नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।