काठमाडौँ ,२१ असार । एक महिनाभित्र नेपालमा कम्तिमा ३४ लाख मात्रा कोरोना विरुद्धको खोप आउँदैछ ।
चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्र काठमाडौं आउने भएको हो ।
यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधा अन्तर्गतका १० लाख डोज जोन्सन एण्ड जोन्सनको खोप एक महिनाभित्र आउने भएको छ । चिनबाट सिनोफार्मको पहिलो खेप यही असार २५ गते काठमाडौं आइपुग्नेछ ।
यस्तै साउन १ गते र ८ गते थप दुई खेप खोप काठमाडौं भित्रिनेछ । एक पटकमा नेपाल एयरलाइन्सको बिमानले ८ लाख ९ हजार ६०० डोज खोप ल्याउनेछ ।
यसअनुसार तीन खेपमा सवा २४ लाख अर्थात २४ लाख २८ हजार ८०० डोज खोप काठमाडौं आइपुग्नेछ । बाँकी १५ लाख ७१ हजार २०० डोज खोप लिन थप दुई उडान हुनेछन् ।