काठमाडौं, २३ असार । नेपाल मेडिकल काउन्सिलले दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेका स्वास्थ्य संस्थामाथि प्रभावकारी अनुगमन गरी आवश्यक कारबाही गर्न संघ, प्रदेश तथा स्थानीय तहका सम्बन्धित निकायलाई आग्रह गरेको छ।
काउन्सिलका रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले तीनै तहका सरकारअन्तर्गतका सम्बन्धित निकायलाई पत्राचार गर्दै दर्ताविहीन तथा न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालन भइरहेका स्वास्थ्य संस्थाको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न अनुरोध गर्नुभएको हो।
रजिस्ट्रार डा. पाण्डेका अनुसार विभिन्न स्थानबाट प्राप्त गुनासोका आधारमा काउन्सिलले केही समयअघि अनुगमन गरेको थियो। अनुगमनका क्रममा कतिपय स्वास्थ्य संस्था आवश्यक दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालन भएको तथा कतिपयले तोकिएको न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको उहाँले बताउनुभयो।
उहाँका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, सम्बन्धित कार्यालय तथा देशभरका स्थानीय तहमा यससम्बन्धी पत्राचार गरिएको छ।
काउन्सिलले पठाएको दुईबुँदे पत्रमा पहिलो बुँदाअन्तर्गत दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालन भइरहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न वा प्रचलित कानुनबमोजिम कारबाही गर्न आग्रह गरिएको छ।
दोस्रो बुँदामा सञ्चालन अनुमति प्राप्त गरिसकेका तर तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका स्वास्थ्य संस्थालाई आवश्यक सुधारका लागि निर्देशन दिने र सुधार नगरेमा कानुनअनुसार कारबाही गर्न भनिएको छ।
पत्रमा नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु सबै निकायको साझा दायित्व भएको उल्लेख गर्दै यस विषयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न काउन्सिलले सम्बन्धित निकायसँग अनुरोध गरेको छ।