• मंगलबार, ३ कात्तिक २०८३
  • images

    अनलाइन परामर्शमा सावधानी अपनाउन चिकित्सकलाई निर्देशन

    अनलाइन परामर्शमा सावधानी अपनाउन चिकित्सकलाई निर्देशन

    शुक्रबार, वैशाख ४ २०८३
    शुक्रबार, वैशाख ४ २०८३
    अनलाइन परामर्शमा सावधानी अपनाउन चिकित्सकलाई निर्देशन

    काठमाडौं, ४ वैशाख । नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि तथा उपचारसम्बन्धी सल्लाह दिने चिकित्सकहरूलाई सचेत गराएको जनाएको छ।

    काउन्सिलले बिहीबार जारी गरेको सूचनामा फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा ‘अनलाइन परामर्श’को नाममा चिकित्सकहरूले विभिन्न रोगका उपचार विधि, औषधि प्रयोग तथा स्वास्थ्यसम्बन्धी सामग्री सार्वजनिक गर्ने क्रम बढ्दै गएको बताएको छ।

    images

    यस्ता गतिविधिका कारण बिरामीहरूले आफैं औषधि प्रयोग गर्ने, गलत उपचार अपनाउने तथा स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न हुन सक्ने भन्दै काउन्सिलले ध्यानाकर्षण गराएको जनाएको छ।

    सूचनामा स्वास्थ्य सेवा अत्यन्त संवेदनशील क्षेत्र भएकाले प्रत्यक्ष परीक्षण र आवश्यक जाँचबिनाविना सामाजिक सञ्जालमार्फत औषधि प्रयोग गर्न सुझाउनु वा उपचारसम्बन्धी सल्लाह दिनु जोखिमपूर्ण हुने उल्लेख गरिएको छ। यस्ता कार्यले बिरामीको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने काउन्सिलले जनाएको छ।

    काउन्सिलले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बिरामीसम्बन्धी भिडियो वा सामग्री सार्वजनिक गर्दा सम्बन्धित व्यक्तिको अनुमति लिनुका साथै पहिचानको गोपनीयता सुनिश्चित गर्नुपर्ने बताइएको छ।

    त्यसैगरी, सामाजिक सञ्जालमार्फत बिरामीलाई औषधि प्रयोग गर्न प्रत्यक्ष सल्लाह नदिन आग्रह गरिएको छ। स्वास्थ्यसम्बन्धी सूचना तथा परामर्श वैज्ञानिक आधार, प्रमाणित तथ्य र पेशागत आचारसंहिताअनुसार मात्र दिनुपर्ने काउन्सिलले जनाएको छ।

    चिकित्सकीय निर्णय सामाजिक सञ्जालमा उपलब्ध जानकारीका आधारमा नभई प्रत्यक्ष परीक्षण र प्रमाणित उपचार पद्धतिका आधारमा गर्नुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ।

    काउन्सिलका रजिस्ट्रार डा. सतिस कुमार देव द्वारा जारी सूचनामा तोकिएका मापदण्ड पालना नगरे सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार