काठमाडौं, २८ चैत । दुर्गम र आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारको पहुँच विस्तार गर्ने उद्देश्यसहित काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोटले निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा सुरु गर्ने तयारी गरेको छ।
पूर्व सांसद डा. सुनिल कुमार शर्माको पहलमा ल्याइएको यस कार्यक्रमले विशेष गरी दुर्गम जिल्लाका विपन्न नागरिकलाई लक्षित गर्नेछ।
अस्पतालका अनुसार बिरामीको आर्थिक अवस्था हेरेर पूर्ण वा आंशिक शुल्क छुटको व्यवस्था गरिनेछ।
कार्यक्रमको पहिलो चरणमा कर्णालीका हुम्ला, जुम्ला, डोल्पा, मुगु र कालीकोटका साथै रोल्पा, रुकुम र सल्यानका बिरामीलाई प्राथमिकता दिइनेछ।
यससँगै कोशी प्रदेशका पहाडी जिल्लाहरू सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र ताप्लेजुङका बिरामीलाई पनि समेट्ने योजना बनाइएको छ।
बागमती प्रदेश अन्तर्गत दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखाका आर्थिक रूपमा कमजोर बिरामीहरू समेत यो सेवाबाट लाभान्वित हुनेछन्।
सेवा लिन चाहने बिरामीले सम्बन्धित स्थानीय तहबाट सिफारिस लिएर अस्पतालमा सम्पर्क गर्नुपर्नेछ। त्यसपछि अस्पतालले बिरामीको आर्थिक अवस्था मूल्याङ्कन गरी छुटको स्तर निर्धारण गर्नेछ।
डा शर्माले यो पहल प्रारम्भिक चरण मात्र भएको उल्लेख गर्दै आगामी दिनमा थप जिल्लासम्म विस्तार गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार उपचार खर्चकै कारण स्वास्थ्य सेवा लिन नपाउने अवस्थालाई कम गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हो।
अस्पतालले सेवा सम्बन्धी थप जानकारीका लागि ९८०२३३५११२ र ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।