काठमाडौ, १८ चैत । त्रिभुवन विश्वविद्यालय बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रको कार्यकारी निर्देशकमा प्राडा. मीनु चौधरी नियुक्त हुनुभएको छ ।
त्रिवि कार्यकारी परिषदले वरिष्ठ नेत्र विशेषज्ञ प्राडा. चौधरीलाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
प्राडा. चौधरीले बुधबार (आज) कार्यकारी निर्देशक पदबहाली गर्नुभएको छ ।
प्राडा. जोशीको चार वर्षे कार्यकाल गत असोज १० गतेदेखि नै कार्यकारी निर्देशक पद रिक्त रहेको थियो ।
अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्राडा. सगुन नारायण जोशीलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।
छ महिनापछि बिपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले कार्यकारी निर्देशक पाएको हो । प्राडा. चौधरीको कार्यकाल चार वर्षको हुनेछ।
केन्द्रका यसअघिका निर्देशक डा जोशीको कार्यकाल सकिएपनि त्रिवि कार्यकारी परिषदले केन्द्रको कार्यकारी निर्देशक पदमा कुनै पनि व्यक्ति नियुक्त गर्न सकेको थिएन ।
यसअघि गत कात्तिक महिनामाप्राडा.इश्वर लोहनीको संयोजकत्वमा कार्यकारी निर्देशक छनौट समिति गठन गरिएको थियो । उक्त समितिमा प्रा.तक्मा केसी र डा.सुदीप पराजुली हुनुहुन्थ्यो ।
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानले त्रिवि कार्यकारी परिषदमा चौधरी र जोशी दुवै जनाको नाम सिफारिस गरेको थियो।
उक्त समितिले प्राडा. चौधरी र जोशीको नाम कार्यकारी परिषदमा सिफारिस गरेपनि परिषदले कार्यकारी निर्देशक नियुक्त गर्न सकेको थिएन ।