काठमाडौं ।
युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनी नियुक्तहुनुभएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरका चिकित्सक डा. मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो । यसअघि कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. जागेश्वर गौतम हुनुहन्थ्यो । डा. गौतमलाई परोपकार प्रसुति गृह थापाथलीमा सरुवा गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ । सरकारले केही समयअघि जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशमा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल रुपमा सञ्चालन गर्ने कानुनी प्रबन्ध गरेको थियो ।
सबै कोभिड–१९ अस्पतालहरुको नियमनदेखि बिरामीको उपचार व्यवस्थापनसम्म जिम्मेवारी केन्द्रीय अस्पतालको छ । यस्तै, अस्पतालले प्रयोगशालादेखि खरिदसम्मका महत्वपूर्ण काम गर्ने अधिकार पनि केन्द्रीय अस्पतालले पाएको छ । जसका कारण युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिलाई महत्वका साथ हेरिएको थियो ।