बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
काठमाडौं, ७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बेलायतको सार्वजनिक स्वास्थ्य तथा रोकथाम उपमन्त्री एस्ले डाल्टनसँग भेटवार्ता गर्नुभएको छ ।
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गर्नुभयो ।
मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गर्नुभयो ।
साथै अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गर्नुभयो ।
बेलायती उपमन्त्री डाल्टनले नेपालको स्वास्थ्य सुधारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिरहेको प्रयासको प्रशंशा गर्नुभयो ।
उहाँले नेपाल र बेलायतबीचको लामो मित्रताको चर्चा गर्दै थप सहकार्य वृद्धि हुने अपेक्षा गर्नुभयो ।
मन्त्री पौडेलले सम्मेलनका क्रममा विभिन्न देश तथा संस्थाका स्वास्थ्य अधिकारीहरुसँग कुराकानी गर्दै नेपालको स्वास्थ्य सेवा सुधारमा सहकार्यको प्रस्ताव गर्नुभयो ।
उहाँले भारतकी स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवसँग समेत नेपाल भारतको स्वास्थ्य सहकार्यका विविध आयामबारे चर्चा गर्नुभएको थियो ।
मन्त्री पौडेलले विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग समेत बसाइका क्रममा स्वास्थ्य सेवा सुधारका लागि सहकार्यबारे कुराकानी गर्ने छ ।