काठमाडौँ, २७ फागुन । नेपाल मेडिकल काउन्सिलले ‘मेडिको लिगल युनिट’ गठन गरेको छ ।
पछिल्लो समय बढ्दै गएको कानूनी विवाद तथा मुद्दाहरुको प्रभावकारी व्यवस्थापनका लागि काउन्सिलमा ‘स्थायी कानूनी इकाई मेडिको लिगल युनिट स्थापना गर्ने निर्णय गरेको हो ।
गत १२ र १३ फागुनमा बसेको काउन्सिलको पूर्ण बैठकले छ सदस्यीय मेडिको लिगल युनिट गठन गर्ने निर्णय गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले मेडिको लिगल युनिटमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी, डा अनिलबिक्रम कार्की, डा गोपाल चौधरी, डा दीपेन्द्र पाण्डे, डा छविलाल पन्थी र काउन्सिलका कानूनी सल्लाहकार नारायणप्रसाद खनाल रहेको युनिट गठन गरेको जानकारी दिनुभयो ।
गठन गरेको मेडिको युनिटले अदालतका आदेशहरुको समयमै पालना, कानूनी परामर्श तथा काउन्सिलको तर्फबाट आवश्यक प्रतिरक्षा कार्यलाई व्यवस्थित रुपमा अघि बढाउने छ ।
पछिल्लो समय काउन्सिलमा चिकित्सकका उपचार सेवा देखि अन्य क्रियाकलापका सन्दर्भ उल्लेख गर्दै मुद्दा दायर गर्ने क्रम बढेको छ ।