विराटनगर, ६ पुस । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार बिहान करिब ६:३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो ।
गम्भीर घाइते हुनुभएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।
यादव सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी हुनुहुन्छ।
पाँचौँ तलामाथिबाट भुइँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उहाँलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो।
उपचारकै क्रममा आइतबार बिहानै उहाँको मृत्यु भएको हो ।
नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले यादवको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।
यादव नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत हुनुहुन्थ्यो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।