वीरगञ्ज, २२ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा शर्मा गौतमले नारायणी अस्पतालमा चिकित्सक तथा नर्सिङ कर्मचारीको दरबन्दी वृद्धि गर्ने योजना रहेको बताउनुभयो ।
उहाँले सोमबार अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालमा दरबन्दी कम भएकोले चिकित्सक तथा नर्सको दरबन्दी वृद्धि गर्नुपर्ने बताउनुभयो ।
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डडेन्ट (मेसु) डा चितरञ्जन साहले अस्पतालको सेवा प्रवाहसम्बन्धी विस्तृत रूपमा जानकारी गराउँदै अस्पतालमा भवन जिर्ण रहेकोले संघीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
स्वास्थ्य मन्त्री डा.शुधा शर्माले नारायणी अस्पतालको भवन निर्माण संघीय सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।
मन्त्री शर्माले अस्पतालको संरचना जीर्ण हुँदै गइरहेकाले पनि निर्माणका लागि संघीय सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
“अस्पताल भवन निर्माणमा भइरहेको समस्यालाई बुझेर सहरी विकास तथा भवन निर्माण विभागसँग समन्वय गरी निर्माणमा देखिएको जटिलता फुकाउने प्रयास गर्नेछौँ,” उहाँले भन्नुभयो,“अस्पताल भवन निर्माणका लागि गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कनको आवश्यक प्रक्रिया टुङ्गो लगाएर आगामी आवको बजेटमा बजेट राखेर आवश्यक प्रक्रिया अघि बढाउनेछौँ ।”
मन्त्री शर्माले नारायणी अस्पतालको संरचनालाई जतिसक्दो चाँडो निर्माण गर्नुपर्ने आवश्यकता भएकाले पनि तदारुकताका साथ अघि बढाइने बताउनुभयो ।
मन्त्री शर्माले नेपाल सरकारको लगानी र प्राथमिकतामा स्वास्थ्य क्षेत्र परेको बताउँदै पर्सा जिल्लामा पर्याप्त स्रोतसाधन हुँदा पनि स्वास्थ्य क्षेत्र पछाडि परेको विषय सोचनीय भएको पनि बताउनुभयो ।