यसअघि तीन जना छोरी जन्मिएको भन्दै परिवारका सदस्यले झगडा गरेपछि आमा बेपत्ता
वीरगन्ज, १३ फागुन । वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी जन्मिएको भन्दै नवजात शिशु अस्पतालको बेडमै छाडेर एक जना महिला बेपत्ता भएकी हुन्।
परिवारका सदस्यहरुले छोरी जन्मिएको भन्दै झगडा गरेपछि आफूले जन्माएको शिशु छाडेर बेपत्ता भएकी हुन् ।
शनिबार प्रसूति गराउनका लागि वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षिया महिला सीता देवी साह कानुलाई लिएर उनकी सासु अस्पतालमा आएकी थिइन्।
नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले अस्पतालको प्रसूती विभागमा शनिबार जन्मिएको नवजात शिशु अस्पतालको बेडमै छाडेर शिशुलाई जन्मदिने महिला र उनका आफन्त सम्पर्कविहीन भएको जानकारी दिए ।
यसअघि ती महिलाका तीन जना छोरी मात्रै थिए। अहिले चौथो सन्तानपनि छोरी नै जन्माएको भन्दै ती महिलाका सासु लगायतका परिवारका सदस्यले महिलासँग कच्कच गरेपछि झगडापनि भएको थियो।
झगडा भएपछि शनिबार बेलुकीको समयमा ती महिला र उनीसँग आएका आफन्तहरु शिशुलाई अस्पतालकै बेडमा छाडेर सम्पर्कविहिन भएको जानकारी अस्पताल प्रशासनले प्रहरीलाई गराएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।
आइतबार साँझसम्म पनि ती महिला वा उनका आफन्त कोहिपनि सम्पर्कमा आएका छैनन् ।
शनिबार अस्पतालको प्रसूती वार्डमा भर्ना गरिएकी ती महिलाले शनिबार नै छोरीलाई जन्म दिएकी थिइन्।
डाक्टर सिंहका अनुसार, ती महिलाको पतिको नाम धिरज साह कानु रहेको अस्पतालको रेकर्डमा उल्लेख छ। डाक्टर सिंहका अनुसार, प्रसूती गराउन अस्पतालमा आउँदा उनका पति भने आएका थिएनन्।