काठमाडौँ, १५ साउन । काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोलले क्यान्सर रोग रोकथाममा पत्रकारहरुको भूमीका महत्वपूर्ण हुने बताउनुभएको छ ।
बिहीबार नेपाल क्यान्सर निवारण प्रतिष्ठान र नेपाल आदिवासी जनजाति पत्रकार महासंघले क्यान्सर रोगबारे पत्रकारहरुसंग गरिएको अन्र्तक्रिया कार्यक्रममा डंगोलले पछिल्लो समय क्यान्सर रोग बढ्दै गएको बताउनुभयो ।
उहाँले क्यान्सर लागिसकेपछि आर्थिक रुपमा ठूलो क्षति पुग्ने भन्दै क्यान्सर लाग्नबाट बच्नको लागि जनेचतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
क्यान्सरले् आर्थिक संगै मानसिक र पारिवारिक भार थप हुने उहाँको भनाई छ ।
पछिल्लो समय जिवनशैली र अस्वस्थकर खानपानले क्यान्सर बढीरहेको उहाँको भनाई छ ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. डा इशान मल्लले प्रोटेस्ट क्यान्सरबारे प्रस्तुतिकरण गर्नुभएको थियो । उहाँले एक लाखमा २.९ प्रतिशत मानिसलाई प्रोटेस्ट क्यान्सर हुने गरेको जानकारी गराउनुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा. रजनी झाले नेपालमा क्यान्सर रोगले जटिल अवस्था लिएको बताउनुभयो । उहाँले स्तन क्यान्सर, फोक्सोको क्यान्सर नेपालमा प्रमुख क्यान्सरको रुपमा देखिएको बताउनुभयो । डा.झाले पहिलो स्टेजमा क्यान्सर पत्ता लगाउन सके शतप्रतिशत बचाउन सकिने बताउनुभयो । नेपालीहरु तेस्रो र चौथो चरणमा मात्र अस्पताल पुग्ने गरेको उहाँको भनाई छ ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधानले क्यान्सर लागिसकेपछि उपचार गर्नुभन्दा उपचार लाग्नै नदिन जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।