काठमाडौं,३१ असार । किशोरीहरुको डिम्ब कारोबारमा सम्लग्न बरमहलस्थित होप फर्टिलिटी एण्ड डायग्नोस्टिक प्रालिका पाँच जना हाजिर जमानतमा रिहा भएका छन् ।
१८ वर्ष मुनिका किशोरीहरुको डिम्बको कारोबार गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पाँच जनालाई पक्राउ गरेको थियो। अदालतले थुनामा नराखेर नै अनुसन्धान अगाडि बढाउन भनेपछि ब्युरोले उनीहरुलाई हाजिर जमानतमा छाडेको हो।
हाजिर जमानतमा छाडे पनि उनीहरुविरुद्ध अनुसन्धान जारी रहेको छ ।
ब्युरोको प्रारम्भिक अनुसन्धानमा होप फर्टिलिटीमा १८ वर्ष मुनिका किशोरीहरुलाई बोलाएर इन्जेक्सन लगाएर डिम्ब निकाल्ने गरेको र किशोरीहरुलाई १० हजार देखि १५ हजारसम्म रकम दिने गरेको देखिएको छ।
पीडित किशोरीहरुले दिएको जानकारी अनुसार होपमा उनीहरुलाई १० दिनसम्म इन्जेक्सन लगाएर राखिएको थियो। यसरी किशोरीहरुबाट निकालिएको डिम्ब विकास भइसकेपछि किशोरीको शरीरबाट डिम्ब निकालेर त्यसलाई सुरक्षित गरेर राख्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको ब्युरोले जानकारी दिएको छ।
होप फर्टिलिटीबाट प्रहरी नियन्त्रणमा रहेका पाँच जनाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।