• आइतबार, १४ भदौ २०८३
  • images

    नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण

    नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण

    आइतबार, जेठ ११ २०८२
    आइतबार, जेठ ११ २०८२
    नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण

    भक्तपुर, ११ जेठ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएका व्यक्तिबाट एउटै व्यक्तिमा मिर्र्गौला र कलेजो प्रत्यारोपण गरिएको छ । अर्का एक व्यक्तिमा मिर्गौला प्रत्यारोपण गरिएको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एकैपटक एउटै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण नेपालमा पहिलोपटक हो । यसले नेपालमा अंगदानप्रति मानिसको जागरुकता बढीरहेको देखाएको छ । 

    brein death.jpg


    मिर्गौला र कलेजो दुवै फेल भएका ५४ वर्षिय पुरुषको एकै पटक कलेजो र मिर्गौला प्रत्यारोपण भएको हो । यस्तै अर्की ४४ वर्षिया महिलाको पनि मिर्गौला प्रत्यारोपण भएको छ । 
    शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले एकै व्यक्तिको अंगबाट एउटै व्यक्तिमा कलेजो र मिर्गौला प्रत्यारोपण हुनु नेपालको लागि ठूलो सफलता भएको बताउनुभयो । उहाँले यसअघि कलेजोको प्रत्यारोपण गर्नका लागि भारतबाट विज्ञको सहयोग लिने गरेको भएपनि यो पटक नेपालीको टोलीले मात्रै कलेजो र मिर्गौला एकैपटक प्रत्यारोपण गरिएको जानकारी गराउनुभयो । 

    brein death newss.jpg
     दुवै अङ्ग एकैपटक, एउटै व्यक्तिमा प्रत्यारोपण गरेको पहिलो पटक हो डा. श्रेष्ठले भन्नुभयो,“यो सफलताले मानिसमा अंगदानप्रति सचेतना बढाउनेछ ।”
    डा. श्रेष्ठका अनुसार मस्तिष्क मृत्यु भएका १८ वर्षिय  डोनर  काठमाडौँ मेडिकल कलेजबाट ल्याइएको हो । मस्तिष्क मृत्यु भएको अंगबाट एकैपटक दुइवटा अंगको प्रत्यारोपण गरेर नेपालमा पहिलो पटक सफल भएको भन्दै उहाँले ब्रेनडेथबाट कलेजो प्रत्यारोपण भएको यो चौथोपटक भएको बताउनुभयो । यस्तै मस्तिष्क मृत्युबाट मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति १२ जना पुगेको छ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा धादिङ जिल्ला निवासी १८ वर्षिय युवकको अंगबाट मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको हो । काठमाडौंको नारायणगोपाल चोकमा सवारी दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका युवालाई उपचारका क्रममा केएमसी ल्याइएको थियो । केएमसीमा परीक्षणपछि मस्तिष्क मृत्यु भएको पुष्टि भएको थियो । उहाँका बुबा र दाजुको सहमतिमा अङ्गदान प्रक्रिया गरिएको हो । केएमसीका वरिष्ठ चिकित्सक डा. रोशन घिमिरेको नेतृत्वमा रहेको विशेषज्ञ टोलीले मृतकबाट प्राप्त अंगहरू शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हस्तान्तरण गरेको थियो । १८ वर्षिय युवाका अङ्गहरू ५४ वर्षिय व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । 
    प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो। त्यस्तै मस्तिष्क मृत्यूबाट प्राप्त कलेजो र मृर्गौला प्रत्यारोपण एकै व्यक्तिमा नेपाली विज्ञहरुबाटै सफलपूर्वक सम्पन्न हुनु नेपालकै लागि खुसीको कुरा भएको अस्पतालका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताउनुभयो ।

     

    उक्त प्रत्यारोपण टिममा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्का हुनुहुन्थ्यो । 

    यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए। यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर बज्राचार्य सहभागी हुनुहुन्थ्यो । 
    यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए। प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए। यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गर्नुभएको थियो । 

    नर्सिङ विभागबाट निर्देशक पूजा कोइराला, इन्चार्जहरू अस्मिता कटुवाल, बबिता लवजू, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो। फोकल पर्सन गौरव पन्थ तथा रामचन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए।

    काठमाडौं मेडिकल कलेज, सिनामंगल, काठमाडौंमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो। उक्त अंगदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक सुनील शर्मा, सर्जन डा. रोशन घिमिरे, नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिस्ट डा. विजय केसी, पोस्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठलगायतबाट सकारात्मक सहयोग प्राप्त भएको थियो।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री  प्रदीप पौडेलले मस्तिष्क मृत्युपश्चात् हुने अंगदानजस्तो पवित्र कार्यलाई थप प्रोत्साहान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी दुई लाख तथा अंगदाता अस्पताललाई ७५ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । 

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार