• बुधबार, २८ असोज २०८३
  • images

    औषधि व्यवस्था विभागको अनुगमन टोलीमाथि आक्रमण, दुईजना कर्मचारी घाइते

    औषधि व्यवस्था विभागको अनुगमन टोलीमाथि आक्रमण, दुईजना कर्मचारी घाइते

    मंगलबार, जेठ ६ २०८२
    मंगलबार, जेठ ६ २०८२
    औषधि व्यवस्था विभागको अनुगमन टोलीमाथि आक्रमण, दुईजना कर्मचारी घाइते

    रौतहट, ६ जेठ ।  रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा औषधि पसल अनुगमन गर्न गएको सरकारी टोलीमाथि स्थानीयको एक समूहले आक्रमण गरेका छन्। 

    फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्। 

    घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका हुन् । 
     उनीहरूको अवस्था समान्य छ ।  विभागीय प्रमुख शम्भु साहले अनुगमन टोलीमा औषधि व्यवस्था विभागसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसाद र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुद्रराज कँडेल सहभागी रहेको जानकारी दिनुभयो । 

    स्थानीयले प्रतिकारका क्रममा निरीक्षक कँडेलको मोबाइल फोनसमेत तोडफोड गरेका छन्। घटनाको क्रममा राजपुर नगरपालिका वडा नम्बर ५ की ५५ वर्षीया सुमित्रा देवीले सरकारी कर्मचारीलाई जोगाउने प्रयास गर्दा उनी आफैँ घाइते हुनुभएको छ ।
     उहाँको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। 

    अनुगमन टोलीले स्थानीय शेख नेक महम्मदले हार्डवेयरमा वर्षौँदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरीका आधारमा सोही स्थानमा छापा मारेको थियो। 

    पसल न त दर्ता थियो, न त विक्री वितरणको अनुमति नै। त्यहाँबाट केही प्रतिबन्धित औषधिसमेत फेला परेको जनाइएको छ। 

    रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको र दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार