एकहजार ५७४ जना लाभान्वित
स्याङ्जा, २७ असोज । स्याङ्जाको बिरुवा गाउँपालिकामा सञ्चालित दुई चरणका निःशुल्क आँखा शिविरबाट एक हजार ५७४ जना लाभान्वित भएका छन् ।
शिविरका क्रममा मोतिबिन्दु पहिचान भएका १२४ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । बीएम फाउण्डेशनको आयोजना, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस (टीपीबी) र बिरुवा गाउँपालिकाको सहयोग तथा बीपीआई फाउण्डेशनको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर १, ३, ४ र ६ मा आँखा परीक्षण गर्दा ५७४ जनाले सेवा लिनुभएको थियो । परीक्षणका क्रममा आवश्यकताअनुसार सेवाग्राहीलाई निःशुल्क चस्मा र औषधि वितरण गरिएको थियो भने ४० जनामा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको थियो ।
पहिलो चरणमा पहिचान भएका बिरामीको उपचार तथा गाउँपालिकाका बाँकी वडाका बासिन्दाको आँखा परीक्षण गर्ने उद्देश्यले दोस्रो चरणको शिविर सञ्चालन गरिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।
विश्व दृष्टि दिवस २०२६ को अवसर पारेर अक्टोबर ७ देखि १० सम्म सञ्चालन गरिएको दोस्रो चरणको कार्यक्रममा वडा नम्बर ७, ८, २ र ५ का करिब एक हजार जनाको आँखा परीक्षण गरिएको थियो । शिविरमा निःशुल्क औषधि तथा चस्मा वितरण गर्नुका साथै आँखा स्वास्थ्यसम्बन्धी परामर्शसमेत प्रदान गरिएको थियो ।
अक्टोबर ९ र १० मा वडा नम्बर ६ स्थित चिन्नेबास अस्पतालमा मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो । दुवै चरणमा पहिचान भएका बिरामीमध्ये कुल १२४ जनाको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको डा. श्रेष्ठले बताउनुभयो ।
मोतिबिन्दु र दृष्टिदोषका समस्या बढी
शिविरमा गरिएको आँखा परीक्षणका क्रममा करिब ३०० जनामा मोतिबिन्दु र ६०० जनामा उमेर बढ्दै जाँदा नजिकका वस्तु स्पष्ट देख्न कठिन हुने समस्या (प्रेसबायोपिया) पहिचान भएको फाउण्डेशनले जनाएको छ ।
त्यसैगरी, करिब ५० जनामा आँखा सुक्खा हुने समस्या, १०० जनामा आँखाको सेतो भागमा पहेँलो उठेको धब्बा देखिने समस्या (पिङ्ग्वेकुला) र २० जनामा आँखामा मासु पलाउने समस्या (टेरिजियम) भेटिएको थियो ।
शिविरमार्फत आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गराउनुका साथै नियमित आँखा परीक्षणको महत्त्वबारे स्थानीय बासिन्दालाई जानकारी दिइएको थियो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय जनप्रतिनिधि तथा सहयोगी संस्थाप्रति बीएम फाउण्डेशनले आभार व्यक्त गरेको छ ।