• सोमबार, २ कात्तिक २०८३
  • images

    जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न

    जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न

    आइतबार, चैत ४ २०८०
    आइतबार, चैत ४ २०८०
    जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न

    जनकपुरधाम,४ चैत । धनुषाको जनकपुरमा छैटौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन सम्पन्न भएको छ।
    आयोजक विनयतारा फाउन्डेसनको आयोजनामा उक्त सम्मेलन सम्पन्न भएको हो । 


    अमेरिका, भारत र नेपालका क्यान्सर रोग विशेषज्ञहरुको सहभागिता रहेको अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलनमा क्यान्सर सम्बन्धि विज्ञहरुले प्रस्तुति दिएका थिए । 

    images

    उक्त सम्मेलनमा उपस्थित विशेषज्ञहरुले क्यान्सरको गुणस्तरीय उपचारका लागि चिकित्सकबीचको सहकार्य जरुरी भएको निष्कर्ष निकालेका छन्।

    सम्मेलनका क्रममा क्यान्सर उपचारमा प्रयोग भइरहको नयाँ प्रविधि, विकास भएको पद्धति र उपचारका क्रममा प्राप्त अनुभव आदान प्रदान गरिएको थियो।

    सम्मेलनका निर्देशक तथा आयोजक विनयतारा फाउन्डेसनका अध्यक्ष डा विनय शाहले सम्मेलनका क्रममा वैज्ञानिक प्रस्तुति, त्यसपछि छलफल र त्यसको प्रभावका विषयमा छलफल भएको बताए।

    उनले नेपालको सवैभन्दा धेरै जनसंख्या भएको मधेश प्रदेशमा क्यान्सर उपचारको पहुँच बढाउनु आवस्यक रहेको बताए । 

    दक्षिण एशियाको क्यान्सर उपचारलाई थप गुणस्तरीय बनाउने विषयमा समेत सम्मेलनमा छलफल भएको विनयतारा क्यान्सर ट्रस्टका अध्यक्ष क्यान्सर सर्जन डा वाइपी सिंहले बताए। उनले सम्मेलनमा विशेषगरी क्यान्सर रोग विशेषज्ञका अध्ययन, अनुसन्धान, उपचारका भोगाइ र त्यसका लागि गरिएको अभ्यासका विषयमा छलफल भएको जानकारी दिए।

    त्यसैगरी डा सिंहले मधेश प्रदेशमा क्यान्सर उपचार केन्द्र स्थापना गर्न विनयतारा फाउन्डेसनले गरिरहेको पहललाई मुर्तरुप दिन सरकार र सरोकारवालाले साथ दिनुपर्ने निष्कर्ष निकालिएको बाताए।

    सम्मेलनमा अमेरिकाबाट भर्जिनिया म्यासोन क्लिनिकका क्यान्सर रोग विशेषज्ञ डा डेभिड एबुलाफिया, अमेरिकाकै युनिभर्सिटी अफ क्यालिफोर्नियाका असिस्टेन्ट प्रोफेसर तथा फिजिसियन डा विप्लव यादव र फाउन्डेसनका चिफ डेभलपमेन्ट अफिसर जस्टि मार्कुवाट आएका थिए। उनीहरुले आफूले अमेरिकामा गरिरहेको अभ्यास,  क्यान्सर उपचारमा अपनाइएको प्रविधि र पद्धतकिा विषयमा वैज्ञानिक पेपरहरु प्रस्तुत गरेका थिए।

    यसैगरी भारतबाट राजीव गान्धी क्यान्सर इन्सिच्युट हेमाटो अन्कोलोजी तथा बोनम्यारो ट्रान्सप्लान्ट विभागका निर्देशक दिनेश बुरानी, अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स (एम्स)का प्राफेसरद्वय डा  अल्पना शर्मा र डा सविता यादव सहभागी थिए।

    नेपालबाट चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का सहायक डिन डा अभिमन्यु झा, रक्त क्यान्सरका विशेषज्ञ डा अन्जन श्रेष्ठ,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही, वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत डा राजीवकुमार देव, चिकित्सा शास्त्र अध्ययन संस्थानका मेडिकल अन्कोलोजिस्ट डा सौगात पौड्याल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एशोसिएट प्रोफेसर डा सोनिया दुलाल, नोबेल मेडिकल कलेजमा कार्यरत डा सञ्जिव ठाकुर, डा रुविना सुवाल र विनयतारा क्यान्सर सेन्टरमा कार्यरत फिजिसियन डा गोविन्दराज मण्डलले आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

    क्यान्सरको उपचार थप प्रभावकारी बनाउन एकअर्काको ज्ञानसीप र अनुभव आदानप्रदान गर्ने थलो सम्मेलन हो। ऐतिहासिक तथा धार्मिक आस्था समेत जोडिएको जनकपुरमा नियमित यस्तो कार्यक्रम गरिने डा शाहले बताए।

    जनकपुरमा दक्षिण एशियाकै नमुना क्यान्सर सेन्टर बनाउने लक्ष्य आफूले लिएको उनले बताए। अहिले विनयतारा फाउन्डेसनको सहयोगमा कपिलेश्वर रोडमा २५ बेडको क्यान्सर सेन्टर सञ्चालनमा छ। चाँडै २०० बेडको अस्पताल निर्माण प्रक्रिया अघि बढाउने उनले बताए। जसका लागि जनकपुर महानगरपालिकामा झन्डै ४ रोपनी जग्गा लिइसकिएको बताइएको छ। यो वर्षायामपछि उक्त सेन्टरको भवन निर्माण प्रक्रिया अघि बढ्नेछ।

    सम्मेलनमा विनयतारा फाउन्डेसले नेपाल र भारतका बिरामीको उपचारमा दिएको योगदानका लागि भारतका प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ डा दिनेश बुरानी विशेष सम्मान गरेको छ।

    त्यसैगरी सम्मेलनामा नेपाल क्यान्सर एजुकेशन फाउन्डेसनले युवा वैज्ञानिक अवार्डबाट डा राजीव शर्मालाई १५ हजार राशी सहित सम्मान गरेको छ।

    सम्मेलनमा विशेषज्ञका साथै क्यान्सर उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरु सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस
    थप समाचार