काठमाडौं, २० मंसिर । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपाल चिकित्सक संघ (एनएमए)को बागमती प्रदेश उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अन्कोलोजीका सहायक प्राध्यापक तथा एनएमएका आजीवन सदस्य रहेका एक भिडियो सन्देशमार्फत उम्मेदवारी घोषणा गर्नुभयो ।
उहाँले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डा शाहीले चिकित्सकको पेशागत धर्मजस्तै चुनावी प्रक्रियामा पनि कायम राख्ने भन्दै उपचारका क्रममा कुनै जात–धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं,त्यसैगरी पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार रहेको बताउनुभयो ।
डा शाहीले आफू कहिल्यै प्रत्यक्ष राजनीतिमा संलग्न नरहेको उल्लेख गर्दै यद्यपि देशको स्वास्थ्य प्रणाली जटिल मोडमा पुगेको भन्दै अब केवल व्यक्तिगत क्लिनिकल भूमिकाले मात्र समस्यासँग जुध्न नसकिने बताउनुभयो ।
आज नेपालको स्वास्थ्य प्रणाली चुनौतीपूर्ण अवस्थामा छ, जहाँ केवल व्यक्तिगत क्लिनिकल कामले मात्रै चुनौतीसँग जुध्न सकिने देखिदैन। स्वास्थ्य सेवा र चिकित्सकको हक–अधिकारका लागि कानूनी तथा संरचनागत सुधार आवश्यक छ। त्यसका लागि आफू पनि प्रत्यक्ष भूमिकामा रहनुपर्छ भन्ने मलाई महशुस भएको छ। आगामी निर्वाचनमा हाम्रो गौरवशाली संस्थाको बागमती प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने निर्णय लिएको छु, उहाँले भन्नुभयो ।
आगामी निर्वाचनलाई उहाँले केवल नियमित प्रक्रिया नभई ‘एनएमए उत्सव’का रूपमा मनाउन अपिल गर्नुभयो ।
उहाँले एनएमएका सबै अग्रज, सहकर्मी तथा सदस्यहरूलाई साथ, सहयोग र सक्रिय सहभागिताको लागि अनुरोध गर्नुभयो ।