काठमाडौँ, ३ असोज । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही सम्मानित हुनुभएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा मेडिकल अंकोलोजिष्टका रुपमा कार्यरत डा शाहीले बंगलादेशमा एक्सिलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एण्ड आउटरिच अवार्डबाट सम्मानित हुनुभएको हो ।
क्यान्सर उपचार तथा रोगथाममा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उत्कृष्ठ कार्य गर्ने चिकित्सकलाई मेडिकल अंकोलोली सोसाइटी इन बंगलादेश (एमओएसबी)ले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड यसपटक डा शाहीले प्राप्त गर्न सफल हुनुभएको हो ।
अवार्ड वितरण कार्यक्रममा सार्क फेडरेसन अफ अंकोलोजीका पेट्रोन प्राध्यापक एमए हाई, सोसाइटीका अध्यक्ष प्राडा परविन शाहीदा र महासचिव सह प्राध्यापक डा मोहम्मद रफिकुल इस्लामले शाहीलाई सम्मान गर्नुभयो ।

सो अवसरमा उहाँहरुले नेपाल र बंगलादेशबीचको चिकित्सा क्षेत्रमा बढ्दो सहकार्यको समेत उच्च प्रशंसा व्यक्त गर्नुभयो ।
अवार्ड प्राप्त गरेपछि डा शाहीले क्यान्सर उपचारका क्षेत्रमा काम गर्न थप उर्जा प्राप्त भएको भन्दै नेपाललाई क्यान्सर उपचारको क्षेत्रमा विश्व समुदायसंगै अग्रपङ्तीमा उभ्याउन बल पुगेको बताउनुभयो ।

सो अवार्ड गतवर्ष जापान र त्यसअघि श्रीलंकाका चिकित्सकले प्राप्त गर्न सफल भएका थिए ।
एमओएसबीको शुक्रबार देखि बंगलादेशको राजधानी ढाकामा सुरु भएको दुई दिने एएससीओ एण्ड एमओएसबी कंग्रेस २०२५ को अवसर पारेर प्रदान गरिएको हो ।
ढाकास्थित नेशनल इन्स्टिच्युट अफ क्यान्सर रिसर्च एण्ड हस्पिटलबाट मेडिकल अंकोलोजीमा स्नातकोत्तर गरेका डा शाहीले नेपालमा क्यान्सर उपचार तथा रोकथाममा महत्वपूर्ण योगदान गर्दै आउनुभएको छ ।
डा.शाहीले विशेषगरी विपन्न तथा पहुँच विहीनहरुको उपचार सेवामा केन्द्रीत रहेर काम गर्दै आउनुभएको छ ।
