काठमाडौँ, १८ माघ । महाराजगञ्जस्थित शिक्षण अस्पतालमा विदेशी चिकित्सकको सहयोगविना कलेजो प्रत्यारोपण भएको छ । यसअघि नेपालमा विदेशी चिकित्सक आएर मात्र कलेजो प्रत्यारोपण हुने गर्दथ्यो ।
शिक्षण अस्पताल नेपाली चिकित्सकहरुकै टोलीले कलेजो प्रत्यारोपण गरेको छ ।
नेपालमा शिक्षण अस्पताल र भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पनि कलेजो प्रत्यारोपण हुदै आएको छ ।
शिक्षण अस्पतालका बरिष्ठ कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारीको नेतृत्वमा गत २७ पुसमा गरिएको पछिल्लो कलेजो प्रत्यारोपणमा कुनै विदेशी चिकित्सकको उपस्थिति छैन ।
कलेजो प्रत्यारोपणविद डा. रमेशसिंह भण्डारीले नेपालको लागि ऐतिहासिक क्षण भएको बताए । उनले कलेजो प्रत्यारोपणमा नेपाल आत्मनिर्भरताको बाटोमा अघि बढेको भन्दै अब विदेशबाट कलेजो प्रत्यारोपणका लागि चिकित्सक झिकाउनुनपर्ने बताए ।
नेपाली चिकित्सकहरुको टिमले २७ पुसमा नुवाकोटका ४१ वर्षीय पुरुषमा कलेजो प्रत्यारोपण गरेको हो । उनलाई ४० वर्षीया श्रीमतीले कलेजो दिएकी थिइन् । ‘कलेजो दाता रहेकी श्रीमती १० दिन अघि नै डिस्चार्ज भइसकेकी हुन् । कलेजो ग्रहणकर्ता उनका श्रीमान् पूर्ण स्वास्थ्यलाभ गरी आज डिस्चार्ज हुँदैछन्,’ डा. भण्डारीले भने ।
यसअघि त्रिवि शिक्षण अस्पतालले पनि विदेशी चिकित्सकको सहयोग लिएर नै कलेजो प्रत्यारोपण गर्ने गरेको थियो ।
‘यो हाम्रो ११ औँ केश हो । १० औँ सम्म हामीले पनि भारतबाट विज्ञहरुलाई बोलाएर केश गर्ने गरेका थियौँ । पछिल्ला केशहरुमा उहाँहरुलाई आवश्यक परेमा भनेर राख्ने गरेका थियौँ । अरु केश हामीले नै गर्दै आएका थियौँ । तर यसपटक सबै हामीले नै ग¥यौँ । अब नर्मल प्रत्यारोपणका लागि विदेशबाट चिकित्सक झिकाउन नपर्ने भयो,’ उनले भने ।
उनले आफूहरुलाई विश्वास गर्ने बिरामी परिवार, त्रिवि शिक्षण अस्पताल र प्रत्यारोपणमा सघाउन खटिएका टिमका सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण भएको यो एघारौ पटक हो ।
त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो ।