डाक्टर शिवजी पौडेल नियुक्त
काठमाडौं, १० भदौ । लामो समयदेखि रिक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कार्यकारी निर्देशक पाएको छ।
अस्पतालको कार्यकारी निर्देशकमा डा. शिवजी पौडेल नियुक्त हुनुभएको छ। उक्त अस्पतालमा गत वैशाख २४ गतेदेखि कार्यकारी निर्देशक पद रिक्त थियो। अस्पतालले पाँच महिनापछि निर्देशक पद पाएको हो।
उहाँ नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष हुनुहुन्छ । पौडेल क्यान्सर अस्पतालका रेडियसन अंकोलोजिष्ट समेत हुनुहुन्छ ।
निर्देशक नियुक्तिका लागि गठित उपसिमितले डा पौडेललाई निर्देशकमा नियुक्तका लागि एक नम्बरमा सिफारिस गरेको थियो।
उपसमितिले डा पौडेलसहित डा कृष्णसागर शर्मा र प्रदिप न्यौपानेको नाम सिफारिस गरेको थियो। सिफारिस भएका नाममध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलका नाममा सर्वसम्मत नियुक्त गरेको हो।
अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा मदन उपाध्याय, डा प्रदीप ज्ञवाली र डा दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय उपसमिति गठन गरेको थियो। सोही उपसमितिले आइतबार राति डा पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको थियो।