• सोमबार, १५ भदौ २०८३
  • images

    विश्व  मिर्गौला दिवसः धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा जनचेतनामुलक कार्यक्रमको आयोजना

    विश्व  मिर्गौला दिवसः धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा जनचेतनामुलक कार्यक्रमको आयोजना

    हेल्दीखबर
    बिहीबार , फागुन २५ २०७९
    हेल्दीखबर
    बिहीबार , फागुन २५ २०७९
    विश्व  मिर्गौला दिवसः धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्धारा जनचेतनामुलक कार्यक्रमको आयोजना


    काठमाडौँ, २५ फागुन । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवस मनाएको छ । प्रत्येक वर्ष मार्चको दोस्रो बिहीबार यो विश्व मिर्गौला दिवस विश्वभर मनाइने गरिन्छ । 
    नेपालमा पनि मिर्गौला सम्बन्धि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व मिर्गौला दिवस मनाइएको छ । 

    प्रत्यारोपण केन्द्रले विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार बिहान प्रभावफेरीको आयोजना गरेको छ । 
    कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले मिर्गौला रोगसम्बन्धि जनचेतना बढाउनुपर्ने बताउनुभयो ।  प्रत्यारोपण केन्द्रले चलाएको अभियानलाई निरन्तरता दिनुपर्ने भन्दै उहाँले  स्वस्थ जीवनशैली अपनाइ समय समयमा आफ्नो स्वास्थ्य जाँच गराउन जनतामा सचेतना बढाउन आवश्यक रहेको बताउनुभयो । 
    दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता, अङ्गदान शिविर तथा मिर्गौला पदयात्रालगायतका विविध कार्यक्रम आयोजना गरिएको छ ।

    सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्वास्थ्य अभियान नेपाल र अङ्ग प्रत्यारोपण समाज नेपालले संयुक्तरुपमा कार्यक्रम गरी विश्व मिर्गौला दिवस मनाउने गरेको हो । केन्द्रले मिर्गौला रोगको उपचार र रोकथामबारे सचेतना फैलाउने उद्देश्यले मिर्गौला दिवसको आयोजना गर्दै आएको छ ।

    वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले प्रत्येक १० जनामध्ये एक जनलाई मिर्गौला रोग लाग्ने तथ्याङ्क रहेको बताउनुभयो । उहाँले  मिर्गौला तथा विभिन्न अङ्ग काम नगर्ने समस्याले विकराल रुप लिइरहेको अवस्थामा मिर्गौला दिवसले स्वस्थ जीवनशैली तथा अङ्ग दानसम्बन्धी जनचेतनामा अभिवृद्धि हुने बताउनुभयो ।

                        

    उहाँले भन्नुभयो, “अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउन पनि यो दिवसको महत्व छ ।” प्राकृतिक विपत्ति र विभिन्न कारणले विश्वमा करिब ८५ करोड मिर्गौलाका बिरामी स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेको उहाँले बताउनुभयो । 

    स्थापना भएको १० वर्षमा केन्द्रले एक हजार २६ जनाको मिर्गौला प्रत्यारोपण र नौ जनाको सफल कलेजो प्रत्यारोपण गरेको केन्द्रकी कन्सलटेन्ट नेफ्रोलोजिस्ट डा कल्पना श्रेष्ठले जानकारी दिनुभयो । उहाँले अङ्गदान शिविरबाट पाँच जनाले आफ्नो मृत्युपछिको अङ्ग दानका लागि नाम लेखाएको बताउनुभयो ।

    यसपटकको मिर्गौला दिवसको नारा ‘अप्रत्याशितरुपमा आइपर्ने सङ्कटबाट जोखिममा भएका समुदायलाई बचाउनु’ रहेको छ । कार्यक्रममा अङ्गदाता, अङ्ग ग्रहणकर्ता र चिकित्सक, नर्स, कालाकार, समाजसेवीको उपस्थिती थियो ।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    साताको लोकप्रीय
    थप समाचार