आन्तरिक हवाई उडान पुनः असार १७ गतेदेखि शुरु हुने
काठमाडौं, १३ असार । आन्तरिक हवाई उडान पुनः असार १७ गतेदेखि शुरु हुने भएको छ । कोरोनाको दोस्रो भेरियन्ट आएपछि निषेधाज्ञा सुरुभएसँगै आन्तरिक तथा बाह्य उडान बन्द भएका थिए । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान हुने गरी हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ ।
नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले आउँदो १७ गतेदेखि बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने जानकारी दिनुभयो । उडान भर्नेमध्ये बुद्ध एअरले ३१, यती एअरले १५, श्री एअर सात, सौर्य एअर तीन, नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई गरी दैनिक ६४ वटा उडान हुनेछन् ।
कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।
यसैगरी पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएपनि सरकारले थप चार वटा हवाई कम्पनीलाई अनुमति दिएको छ । अब नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि अन्तर्राष्ट्रिय उडान गर्दे गर्ने भएका छन् । दोहा, जापान, दुबई, ओमान, कुवेत लगायतका गन्तव्यमा उडान शुरु भएको हो । यसरी उडान सञ्चालन गर्दा जनस्वास्थ्यको मापदण्ड पूर्ण पालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।