धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको टोलीको सहयोगमा मिर्गौला प्रत्यारोपण सफल
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरामा एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण सफल भएको छ ।भक्तपुर दुधपाटिस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट आएको चिकित्सकहरुको टोलीको सहयोगमा शनिबार एकै दिन दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको हो ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले दिनुभएको जानकारी अनुसार रुपाकोट गाउँपालिकाका, कास्कीका ५३ वर्षीय पुरुष र चापाकोट नगरपालिका स्याङ्जाका ४२ बर्षका पुरुषको प्रत्यारोपण भएको हो । प्रत्यारोपणका लागि उनीहरु दुबैलाई आफ्ना श्रीमतीहरुले मिर्गौला दान गर्नुभएको थियो।
प्रत्यारोपणका लागि धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट केन्द्रका कार्यकारी निर्देशक तथा प्रत्यारोपणविद डा पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा टोली पोखरा आएको थियो ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले प्रत्यारोपण सेवाले निरन्तरता पाएकोमा खुशी व्यक्त गर्नुभयो । प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर गराउन योजनाबद्ध ढंगले अघि बढी रहेको बताउनुभयो ।
शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रत्यारोपण सेवामा आत्म निर्भर बनाउनको लागि नेफ्रोलोजिष्ट, सर्जन, एनेस्थेसियोलोजिष्ट, कोर्डिनेटर र ओटी तथा आइसीयु नर्सहरुलाई तालिम दिईरहेको बताउनुभयो ।
प्रतिष्ठानमा यसअघि गत ९ असारमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसबेला पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट कार्यकारी निर्देशक डा श्रेष्ठको नेतृत्वमा आएको टोलीको सहयोगमा प्रत्यारोपण भएको थियो ।
यसअघि प्रतिष्ठान र केन्द्रबीच मिर्गौला प्रत्यारोपण कार्यक्रम अघि बढाउन सम्झौँता भएको थियो।
सम्झौँतामा प्रतिष्ठानका लागि आवश्यक जनशक्ति तयार गर्न तथा तालिमको व्यवस्था केन्द्रले मिलाउने र प्रतिष्ठान आफै सक्षम नहुँदासम्म केन्द्रको टोलीले गएर सघाउने उल्लेख छ ।