काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा फेरी सुरु गरिएको छ। वीरको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमतिको मात्र उपचार सेवा गरिन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्न लागिएको हो। मिर्गौला प्रत्यारोपण सेवा पुनः सुचारु गर्न मिर्गौला प्रत्यारोपण कमिटिको आज बिहान बैठक समेत बसेको थियो। सो बैठकले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुचारु गर्ने निर्णय गरेको कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण पछि बिरामीलाई भर्ना गर्ने ट्रान्सप्लान्ट वार्डमा कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको थियो। त्यहाँ डायलाइसिस गर्नुपर्ने कोरोना संक्रमितलाई सेवा दिन थालियो। त्यसपछि मिर्गौला प्रत्यारोपण सेवा बन्द भयो।
डा बस्नेतका अनुसार २०७६ चैत ४ गतेसम्म वीर अस्पतालमा नियमित रुपमा मिर्गौला प्रत्यारोपण भएको थियो। नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले २०७६ साल चैत ११ गतेदेखि देशभर लकडाउन ग¥यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आकस्मिक बाहेकका इलेक्टिभ सर्जरी सेवा बन्द गर्न निर्देशन नै दिएको थियो।
कोरोना संक्रमणको पहिलो लहर कम हुँदै गएपछि अन्य अस्पतालहरुमा सेवा पुनः सुचारु भयो। तर वीर अस्पतालमा कोरोना संक्रमितकै चाप कायमै रहेकाले अस्पतालमा भने मिर्गौला प्रत्यारोपण सेवा सुचारु हुन सकेको थिएन। कोरोना संक्रमणको दोस्रो लहरको समयमा वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार हुन थालेपछि अस्पतालले मिर्गौला प्रत्यारोपण सेवालाई निरन्तरता दिने निर्णय गरेको हो।बिरामीको चापको आधारमा सातामा दुईजना सम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी पुरा भइसकेको डा बस्नेतले बताउनुभयो । मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा पारसमणि श्रेष्ठ, डा अनिल श्रेष्ठ, डा रविन बस्नेत, डा पुकार चन्द्र श्रेष्ठ, डा रजनी हाडा, डा अनिल बराल लगायतका चिकित्सकहरु छन्।