काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतपालका चिकित्सक र नर्समाथि बिहीबार राति भएको आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको छ । ट्वीटर मार्फत राष्ट्रपति भण्डारीले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताउनुभएको छ । घटनापछि स्वास्थ्य सम्वद्ध सङ्घ संस्थाले दोषीउपर कारवाही हुनुपर्ने माग राख्दै आएका छन् । नेपाल नर्सिङ संघ, नेपाल चिकित्सक संघ, हेल्थ असिष्टेन संघ नेपाल लगायतका संघसस्थाले उक्त घटनाको विरोध गरेका छन् । भण्डारीले दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ, यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गर्नुभएको छ ।