काठमाडौ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने अक्सिजेनेटर मेसिन कुटनीतिक पहल गरेर भए पनि छिटोभन्दा छिटो ल्याउन सरकारलाई सुझाव दिएको छ। समितिको शुक्रबार बसेको बैठकले मुटुको शल्यक्रियाका लागि आवश्यक पर्ने उक्त उपकरण नेपाल ल्याउन आवश्यक पर्ने कानुनी सहजीकरणका लागि पनि सरकारलाई सुझाव दिएको छ।
समितिको सभापती जयपुरी घर्तीले मुटुका बिरामीको शल्यक्रिया सेवा छिटो उपलब्ध गराउन कुटनीतिक पहलदेखि कानुनी बाधा अड्चन फुकाएर भए पनि अक्सिजेनेटर मेसिन ल्याउन सुझाव दिनुभयो ।
समितिमा भएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईंले अमेरिका र जापान सरकारलाई कुटनीतिक पहल गरेर भए पनि उक्त मेसिन ल्याउन सकिने विकल्पका विषयमा जानकारी दिनुभयो । उहाँले अक्सिजेनेटर मेसिन अहिले विश्वबजारमा अभाव भइरहेको विषय निकाल्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले कोरियाबाट केही दिनभित्रमा १० वटा अक्सिजेनेटर मेसिन सहयोग आउन लागेको जानकारी पनि समितिमा दिनुभयो ।
गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीले गंगालाल अस्पतालमा मात्र नभई नेपालका अन्य अस्पतालसँगै भारत लगायतका देशमा पनि अक्सिजेनेटरको अभाव भएको जानकारी दिनुभयो। उहाँले कोरोना महामारी र युक्रेन रसिया युद्धका कारण पनि मेसिनको आपूर्ति रोकिएको र अभाव भएको बताउनुभयो।
उहाँका अनुसार विश्वबजारमा अक्सिजेनेटर मेसिन तीन वटा कम्पनीले मात्र बनाउने र त्यसका लागि आवश्यक पर्ने मेम्रेन भन्ने सामान चाइनाबाट नै सप्लाई हुने हुँदा कोरोनाको समयमा सप्लाई रोकिँदा अहिले सम्या देखिएको हो।
ुविगतमा पनि कहिलेकाँही यसको अभाव हुन्थ्यो। त्यो समायमा हामीले अन्य अस्पतालसँग पैचौ मागेर चलाउँथ्यौं र हामीले खरिद गरेको सामान आएपछि उनीहरुलाई दिन्थ्यौं,ु अधिकारीले भन्नुभयो, ुतर अहिले परिस्थिति फरक परेको छ। खरिद प्रक्रिया अगाडि बढेको छ। तर मेसिन नै पाइएको अवस्था छैन।ु
उहाँले नेपालमा वार्षीक दुई हजार पाँच सय ओपन हार्ट सर्जरी हुने जानकारी दिदै जसमध्ये १८ देखि १९ सय सम्म गंगालालमा हुँदै आइरहेको छ। अक्सिजेनेटर मेसिन ओपन हार्ट सर्जीरमा आश्यक पर्छ ।
उहााले गंगालालमा बच्चाका लागि अक्सिजेनेटर १ सय २० वटा भन्दा बढी रहेको र अहिले वयस्कका लागि अभाव भएका कारण आकस्मिकबाहेकको शल्यक्रिया रोकिएको पनि जानकारी दिनुभयो । अक्सिजेनेटर मेसिनले मुटुको शल्यक्रिया गर्दा रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ। मुटुको शल्यक्रियाका क्रममा मुटु र फोक्सोको काम उपकरणको सहयोगमा कृत्रिम रुपमा सञ्चालन गर्नुपर्छ।