लमजुङ । लमजुङको मस्र्याङदी गाउँपालिका भुस्मेगाउँ नजिकै कालिमाटीमा जीप दुर्घटना हुँदा तीनजना सनाखत भएको छ ।
मृत्यु हुने तीन जनामध्ये दुई विद्यार्थी र एक जना शिक्षक हुनुहुन्छ ।
प्रहरीका अनुसार गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढसय मिटर तल खसेको थियो । ट्राफिक प्रहरी कार्यालय लमजुङका प्रमुख, प्रहरी नायव निरीक्षक विष्णुबहादुर नेपालीले दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा मस्र्याङदी गाउँपालिका वडा नं. ९ भलामचौरका प्रमिसा गुरुङ, मस्र्याङदी गाउँपालिका ९ सेग्लेका गणेश भण्डारीको मृत्यु भएको छ । उनीहरु गणेश माविमा अध्ययनरत विद्यार्थी हुन् । यस्तै कपिलवस्तु घर भएका शिक्षक कमल थापामगरको पनि घटनास्थलमै मृत्यु भएको छ । मस्र्याङदी गाउँपालिका वडा नं. ९ सिम्पानीबाट वडा नम्बर ८ भुस्मे माथि पिसहिल स्टेशन डाँडातर्फ जाँदै गरेको ग १ ज ६३१७ नम्बरको बोलेरो जिप बिहीबार विहान साँढे १० बजेतिर दुर्घटना भएको थियो ।
प्रहरीका अनुसार उनीहरुको शव जिपले च्यापिएको अवस्था थियो । प्रहरीका अनुसार अन्य दुईजना गम्भीर घाइते भएका छन् । चालक र एक छात्रा गम्भीर घाइते भएकाले जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकी चितवन मेडिकल कलेज चितवन रिफर गरिएको छ । छ जना सामान्य घाइते छन् । उक्त जीपमा चालकसहित १२ जना सवार थिए ।