काठमाडौें । नेपाल चिकित्सक संघले महामारीसम्बन्धी आवश्यक नीति र स्वास्थ्य पूर्वाधार तयार गर्न सहयोग गर्ने उदेश्यले ‘एनएमए नेशनल हेल्थ समिट २०२१’ आयोजना गर्ने भएको छ ।
उक्त समिटले कोरोना महामारीका क्रममा भोगेका र सिकेका विषयमा छलफलगरी आगामी दिनमा महामारीसंग कसरी जुध्नसक्ने भन्ने छलफल हुनेछ । नेपाल चिकित्सक संघले पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ९ गते सम्मेलन हुने जानकारी दिएको छ । संघको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार जर्नल अफ नेपाल मेडिकल एशोसिएसन प्रकाशन सुरुवात भएको महिना पारेर प्रत्येक वर्ष बार्षिक क्यालेण्डर इभेन्टको रुपमा समिटको आयोजना गर्न लागिएको हो ।
सम्मेलनका लागि चिकित्सक संघले पूर्व अध्यक्ष केदारनरसिंह केसी अध्यक्ष र डा. अन्जनीकुमार झा सहअध्यक्ष रहेको आयोजन समिति र डा. कुसुम थापाको संयोजकत्वमा वैज्ञानिक समिति बनाएको छ । उक्त पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा. लोचन कार्कीले महामारी नियन्त्रण र सेवा प्रवाहका क्रममा स्वास्थ्य प्रणाली र आम नागरिकका भोगाई र सिकाईका आधारमा भावी नीति तर्जुमा गरिने जानकारी दिनुभयो । उहाँले सरकारलाई महामारी नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनमा प्रस्तुत कार्यपत्र, विज्ञ विचार र प्रश्नका आधारमा सारांश तयार गरी सरकारका विभिन्न निकाय र मन्त्रालयमा बुझाउने योजना रहेको छ ।
चिकित्सक संघका महासचिव डा. बद्री रिजालले सम्मेलनका लागि गठित आयोजक समितिले शैक्षिक गतिविधिहरु तयार गरी आवश्यक कार्य तिब्रताका साथ अगाडी बढाईरहेको बताउनुभयो । यसपटक सम्मेलनका लागि पाँचवटा छलफलका मुख्य विषय छानिएका छन् । जसमा स्वास्थ्यमा सुशासन र नेतृत्व, मानव संशाधन र सेवा प्रवाह, कोभिड १९ खोप र नेपाल सरकारको रणनीति, महामारीमा बहुपक्षीय समन्वय, अवसर, चुनौती र सिकाई, महामारीमा सेवा प्रवाह र आवष्किार मुख्य विषय छन् ।