काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा प्रमुख डा.तारानाथ पोखरेललाई सार्क क्षयरोग केन्द्रको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाको निर्देशक पदको जिम्मेवारी डा विवेककुमार लालले पाएका छन् ।
त्यसैगरी क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउमा डा प्रकाश शाहलाई ल्याइएको छ । त्यस्तै भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा कृष्ण पौडेललाई नियुक्ती गरीएको छ । सो अस्पतालका मेसु डा रोशन न्यौपानेलाई प्रदेश अस्पतालमा सरुवा गरिएको छ।
यस्तै सिसिएससीमा रहनुभएका सागर दाहाललाई खोप शाखामा ल्याइएको छ । खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमलाई व्यवस्थापन महाशाखा अन्तर्गतको जिम्मेवारी तोकिएको छ ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णयबाट उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको हो ।